Logo

पहिलो चरणको त्रुटि सच्याइँदै, दोस्रो चरणको तयारी शुरु



काठमाडौँ, १ भाद्र । मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको पानी काठमाडौँ ल्याउन सुरुङमा त्रुटि सच्याउने काम भइरहँदा दोस्रो चरणको निर्माणका लागि आवश्यक तयारी शुरु गरिएको छ ।

दोस्रो चरणको निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गरिने भएको छ । सो अध्ययनका लागि सम्बन्धित पालिकाहरूले सहमति दिने बताइसकेका छन् । मेलम्चीको दोस्रो चरण याङग्री र लार्केमा परामर्शदाताले यस अघि नै अध्ययन सकेर मेलम्ची खानेपानी विकास समितिलाई प्रतिवेदन बुझाइसकेको छ । त्यसपछि आयोजना निर्माणस्थलको वातारणीय प्रभावसम्बन्धी अध्ययन गर्नुपर्ने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसका लागि पालिकाको सहमतिपत्र चाहिन्छ ।”

दोस्रो चरणको डिजाइन गर्ने परामर्शदाताले सन् २०१८ मा नै आफ्नो प्रतिवेदन समितिलाई बुझाएको छ । यसमा विज्ञसँग एक पटक छलफल भइएको सूचना अधिकारी पन्तले जानकारी दिनुभयो । यहाँका पालिकाले सहमति दिएपछि त्यो वातावरण प्रभाव मूल्याङ्कन वातावरण मन्त्रालय पठाइने उहाँको भनाइ छ । डिजाइन दुई वर्ष पहिले सकिएको भए पनि त्यतिबेला स्थानीयवासीले कतिपय माग पहिले पूरा हुनुपर्ने बताएका थिए । अहिले ती मागमध्ये कतिपय आयोजना कार्यालय र कतिपय सम्बन्धित कार्यालयबाट कार्यान्वयन गर्ने सहमति भएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्