Logo

उपत्यका आउजाउ गर्ने सवारी सङ्ख्यामा ७० प्रतिशत कमी



काठमाडौँ, १ भाद्र । काठमाडौँ उपत्यका भित्रने र बाहिरने सवारी साधनमा ७० प्रतिशतले कमी आएको ट्राफिक प्रहरीले जनाएको छ । लकडाउन खुकुलो बनेसँगै काठमाडौँ उपत्यकामा सवारी साधनहरू भित्रने र उपत्यकाबाट बाहिरिनेहरूको सङ्ख्या दैनिक सात हजारसम्म पुगेकोमा सरकारले जोरबिजोरको निर्णय गरेपछि दैनिक दुई हजार पाँचसयमा घटेको थियो ।

लकडाउन घटेसँगै काठमाडौँ छाड्ने र भित्रनको सङ्ख्या ह्वात्तै बढेको थियो । लामो लकडाउनपछि उपत्यकामा निजी सवारी साधनहरूको चाप बढेको थियो । उपत्यका भित्रिने चारओटा नाकाबाट सो समयमा दैनिक छ हजार सवारी साधन भित्रने गरेको सोही हाराहारीमा सवारी साधनहरू बाहिरने गरेकोमा गृहमन्त्रालयले जोरबिजोर लागू गर्ने निर्णय गरेसँगै काठमाडौँबाट भित्रने र बाहिरिको सङ्ख्यामा ७० प्रतिशतसम्म कमी आएको छ ।

लकडाउन खुलेसँगै असारमा उपत्यका छाड्नेको सङ्ख्या बढेको महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकालले गोरखापत्र अनलाइनलाई बताउनुभयो । काठमाडौँ उपत्यकामा दैनिक दुई हजार पाँच सय सवारी साधनहरू भित्रने र सोही सङ्ख्यामा सवारी साधनहरू भित्रने गरेको ढकालले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयबाट जारी हुने सवारी पासहरू रोकिएसँगै सवारी साधनहरूको सङ्ख्यामा कमी आएको हुन सक्ने ट्राफिक प्रहरीको अनुमान रहेको छ । काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य नाका साँगामा ७० प्रतिशतले सवारी साधन घटेको काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनुभएको छ ।

गृहमन्त्रालयले जोर दिनमा जोर तथा बिजोर दिनमा बिजोर सवारी साधन सञ्चालन गर्ने निर्णय गरेसँगै सवारीको चाप घट्दै जाने क्रममा आइतबार अघिपछि सञ्चालन हुनेभन्दा ७० प्रतिशत सवारीको चाप घटेको प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले जानकारी दिनुभयो । उहाँले भक्तपुर जिल्लासँग समन्वय गरेर काठमाडौँ छिर्ने र काठमाडौँबाट काभ्रेपलाञ्चोक आउने पास बिनाको सवारीलाई पूर्ण रुपमा रोक लगाएसँगै राजमार्गमै गुड्ने सवारी साधनहरूमा ७० प्रतिशतले कमी आएको उहाँले बताउनुभयो ।

गाडीमा कमी आएसँगै अब बजारमा भीडसमेत कम हुने आशा आफूले लिएको प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले बताउनुभयो । कोरोना नियन्त्रणमा स्थानीय सरकारले सकृय सहभागिता देखाएसँगै काभ्रेपलाञ्चोक जिल्लाका मुख्य सहरहरूमा भीडभाड कम भएको तिमल्सिनाले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले तत्कालका लागि कुनै पनि सवारी पास नदिने भएकाले सोर्स फोर्सका फोन गर्न नलगाउन सबैमा उहाँले अनुरोधसमेत गर्नुभएको खबर आजको गोरखापत्रले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्