Logo

मृत्युपछि नेगेटिभ देखिए पनि आफन्तद्वारा दाहसंस्कार अस्वीकार, सेनाले अन्त्येष्टि गर्दै



विराटनगर, १ भाद्र । कोरोना भाइरस कोभिड–१९ नेगेटिभ देखिए पनि विराटनगर–३ की ८७ वर्षीया वृद्धाको मृत्युपछि अन्त्येष्टि गर्न आफन्तले अस्वीकार गरेका छन् । घर परिवारमा सँगै बस्दैआएका छोरा र बुहारी कोरोना सङ्क्रमित भएका कारण आफ्नै आमाको अन्त्येष्टिमा काठमाडौँबाट छोरा आउन सकेनन् भने गाउँ समाजले समेत लास उठाउने हिम्मत गरेनन् ।

मृतक वृद्धाका कान्छा छोरा मङ्गलबारदेखि आइसोलेसनमा बस्दैआउनुभएको थियो । सम्पर्क पहिचानका आधारमा सङ्कलन गरिएको स्वाबको रिपोर्टमा बुहारीलाई कोरोना सङ्क्रमण पुष्टि भए पनि मृत्युपछि मृतक वृद्धाको रिपोर्ट नेगेटिभ आयो ।

शनिबार राति वृद्धाको निधन भएको थियो । निधनको कारण आफन्तसहित समाजले कोरोना सङ्क्रमणलाई नै ठानेका थिए । तर, मृत्युपछि प्रयोगशाला परीक्षणबाट आएको रिपोर्टमा बुहारीको पोजिटिभ आए पनि मृतक वृद्धाको नेगेटिभ नै आएको थियो ।

घरकै छोरा र बुहारीमा कोरोना सङ्क्रमण पुष्टि भएका कारण वृद्धा आमाको समेत कोरोनाकै कारण मृत्यु भएको तर रिपोर्ट भने नेगेटिभ देखिएको आशङ्का गर्दै आफन्त र समाजले लास सद्गद् गर्न अस्वीकार गरेकाले नेपाली सेनाले गर्ने भएको छ ।

ुछोरा र डाक्टरी पढेका नातिसमेतलाई कन्भिन्स गर्न सकेनौँ, मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले भन्नुभयो, अब उहाँको अन्त्येष्टि नेपाली सेनाले गर्नेछ । मृत्युपछि परीक्षण रिपोर्ट नेगेटिभ देखिएमा आफन्तले लास सद्गद् गर्नुपर्ने हुन्थ्योु प्रमुख जिल्ला अधिकारी निरौलाले भन्नुभयो,  त्यही घरका अन्य सदस्य सङ्क्रमित भएका कारण आफन्तसहित समाजले आँट गरेनन् ।

शनिबार राति मृत्यु भएपश्चात् वृद्धाको लास ओछ्यानबाट समेत उठाउन मान्छे छैनन् । समाज संवेदनहीन भइसक्योु, मोरङका प्रमुख जिल्ला अधिकारी निरौलाले भन्नुभयो, अत्यास विदेशमा देखिएको थियो, त्यस्तै नेपालमा पनि सुरु भयो ।

दुई छोरामध्ये एक छोरा सङ्क्रमित भएपछि मङ्गलबारदेखि आइसोलेसनमा राखिएको थियो । काठमाडौँमा भएका जेठा छोराले आमाको मृत्यु भएको र रिपोर्ट नेगेटिभ आएको भन्दा पनि सद्गद् गर्न आउने मनसाय राख्नुभएनु, प्रमुख जिल्ला अधिकारी निरौलाले भन्नुभयो, चिकित्सक पढेका नातिलाई हजारौँ आग्रह गर्दा पनि डर नै मानेपछि नेपाली सेनाले अन्त्येष्टि गर्नेछ । त्यसका लागि व्यवस्थापन मिलाइरहेका छौँ ।

यस्तै, धरानमा शनिबार रात नै विराटनगर–२ निवासी एक महिलाको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । त्यो शव व्यवस्थापनका लागि नेपाली सेनाको टोली जुटेको र शववाहनसमेत प्रयोग गरिएको छ । त्यहाँको शव व्यवस्थापन गरिसकेपछि मात्रै विराटनगरमा मृत्यु भएकी वृद्धाको लास अन्त्येष्टि हुने भएको उहाँले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणका कारण विराटनगर मात्रै मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । विराटनगरबाहेक रङ्गेली, सुनवर्षी र बुढीगङ्गामा एक–एक जनाको मृत्यु भएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्