Logo

देउवालाई सिंहको प्रश्न : सभापति भईसकेपछि विधान भनेको केही होइन भन्न पाईन्छ ?



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाले विधि र विधानअनुसार काम नगरेको गुनासो पोखेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सिंहले भनेका छन्,’१४औँ महाधिवेशन त ४ वर्षभित्र हुनुपर्ने हो नि त । ४ वर्षमा कुनै पनि उहाँले विधानले निर्देशित गरेको पार्टी सभापतिको हैसियतले गर्नुपर्ने काम उहाँले गर्न सक्नुभएन । अधिवेशन ४ वर्षमा गर्नुपर्ने काम, गतिविधि केही गरेकै छैन । अब आपत, संकट त प¥यो । यस्तो भएपछि अर्को १ वर्ष उहाँले थप्नुभयो । अब उहाँ कामचलाउ पार्टी सभापति भईसक्नुभयो । कामचलाउ वर्किङ्ग कमिटि छ । यो कामचलाउले गर्न पाउँछ त ?’  प्रस्तुत छ नेता सिंहसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंशः

कांग्रेस सभापति शेरबहादुर देउवाले धमाधम विभाग गठन गर्नुभयो र भन्नुभयो, यो निरन्तर चलिरहन्छ, म सम्झौता गर्दिनँ । तपाईहरूले खारेज गर्नुपर्छ भन्नुभएको छ । तपाईहरूसँग विकल्प के छ ?

सबैभन्दा पहिले त नेपाली कांग्रेस पार्टी भनेको लोकतान्त्रिक पार्टी हो । डेमोक्रेटिक पार्टीले गर्ने गतिविधि, कामहरू सबै प्रजातान्त्रिक, विधि, तौरतरिका अनुसार हुनुपर्ने हुन्छ । आम जनताले डेमोक्रेसीको पर्यायवाची नेपाली कांग्रेस भनेर लिन्छन् । पार्टी डेमोक्रेटिक भएर अभ्यास पनि डेमोक्रेटिक हुनुपर्ने भनेर आम जनताको भनाइ रहेको छ । पार्टीको विधानले के भनेको छ भन्दा १३औं महाधिवेशनको विधानमा टेकेर शेरबहादुर देउवाजी सभापति हुनुभएको छ, त्यही विधानले के भनेको छ भन्दा पार्टी सभापति भईसकेपछि २ महिनाभित्र सबै पार्टीका निकायहरू पूर्ण गर्नुपर्छ भनेर भनेको छ । निर्देशित नै गरेको छ । सभापति भईसकेपछि विधान भनेको केही होइन भन्न पाईन्छ ? १३औं महाधिवेशनको ४ वर्षपछि अर्को १४ औँ महाधिवेशन गर्नुपर्ने हो ।

महाधिवेशन त नहुने भयो ?

१४औँ महाधिवेशन त ४ वर्षभित्र हुनुपर्ने हो नि त । ४ वर्षमा कुनै पनि उहाँले विधानले निर्देशित गरेको पार्टी सभापतिको हैसियतले गर्नुपर्ने काम उहाँले गर्न सक्नुभएन । अधिवेशन ४ वर्षमा गर्नुपर्ने काम, गतिविधि केही गरेकै छैन । अब आपत, संकट त प¥यो । यस्तो भएपछि अर्को १ वर्ष उहाँले थप्नुभयो । अब उहाँ कामचलाउ पार्टी सभापति भईसक्नुभयो । कामचलाउ वर्किङ्ग कमिटि छ । यो कामचलाउले गर्न पाउँछ त ?

तपाईहरूले दिनुभएको हो नि त अनुमति, १ वर्ष थप्नको लागि त सर्वसम्मत निर्णय भएको हो नि त ? पार्टी सभापतिले आफ्नो अधिकार प्रयोग गर्न नपाउने ? विभाग गठन गर्न नपाउने ?

विभाग उहाँले गठन त गर्न पाउने तर विधानले भनेबमोजिम हुनुप¥यो । २ महिनाभित्र उहाँले गर्नुपर्ने हो । भागबण्डाको लागि गरेको भए त अहिले पनि उहाँले भागबण्डा गर्नुहुन्थ्यो । उहाँको कस्तो बानी छ भन्दाखेरि आफुले गर्न नसकेको काम विपक्षको टाउकोमा राख्ने बानी छ । तर अब सबैले देखिसकेका छन् । उहाँको प्रभावकारीता कत्तिको छ भन्ने कुरा अहिले नेपाली कांग्रेस यस्तो कमजोर अवस्थामा किन पुग्यो त, ध्यान दिन जरुरी छ । प्रतिकुल अवस्थामा काम गरेको सुनौलो इतिहास यो पार्टीसँग छ । म धेरै पुरानो कुरा म गर्न चाहन्न ।

पार्टी सभापतिले आफुले पाएको अधिकार प्रयोग गरेर विभाग गठन गरेर कार्यकर्ताहरूलाई उत्साहित पारेर जिम्मेवारी दिँदाखेरि तपाईहरू जहिल्यै पनि विरोध गरिराख्ने ? अवरोध सिर्जना गरिराख्ने ? काम गर्न नदिने सभापतिलाई ?

१३औं महाधिवेशन सकिएसकेपछि कमिटिमा नै उठेर बोलेको आजसम्म मलाई सम्झना छ । मैले भनेँ अब तपाई पार्टी सभापति हुनुभयो । तपाईलाई हामीले यो महाधिवेशनमा सहयोग गरेको होइन । तर तैपनि के हो भन्दाखेरि डेमोक्रेटिक पार्टीमा रिजल्टलाई हामीले मान्छौँ । तपाई समग्र नेपाली कांग्रेसको पार्टी सभापतिको हैसियतले तपाई अगाडि बढ्नुस् । विधि, नियमसम्मत तपाई अगाडि बढ्नुस् । त्यसमा हाम्रो समर्थन पूरापुर हुनेछ भनेर भनेकै हो नि त । अहिले कुरा के आयो भने २ महिनाभित्र विभाग गठन गर्नुपर्नेमा ४ वर्ष कार्यकाल सकिएर १ वर्ष थपेर त्यो पनि महाधिवेशनको तिथिमिति पुगिसकेपछि फेरि यो कोरोना भाइरसको कारणले गर्दाखेरि यो कार्यतालिकामा संशोधन गरिसकेपछि अहिले आएर गर्न पाइँदैन । यो कुरा कस्तो भन्दा जाँचमा प्रशिक्षार्थीले किताबबाट सारिरहेको बेलामा के गरिरहेको भन्दा म अध्ययन गरिरहेको भनेर भन्न मिल्छ ? अध्ययन त जाँचको हलमा जानुभन्दा अगाडि नै गर्नुपर्ने हो ।

कांग्रेसको विधि, विधान मिचेर सभापतिले काम गरिरहनुभएको छ भन्ने निष्कर्ष हो, तपाईहरूको ?

निष्कर्ष उहाँको कामबाट नै पाउन सकिन्छ । सबैभन्दा बढी जिम्मेवारी पार्टी सभापतिको हो । नेपाली कांग्रेसको सबै कुरा राम्रो तर नेतृत्वमा अलिकति कस्तो भन्दाखेरि समयको माग अनुसार उहाँले जुन भूमिका दिन सक्नुपर्ने हो, त्यसमा कमी कमजोरी भएको छ । शेरबहादुरजीप्रति हाम्रो व्यक्तिगत तवरबाट केही छैन । त्यत्रो संघर्ष गरेर हाम्रा संस्थापक नेताज्युहरू वी.पी. कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराईले स्थापना गरेको यो पार्टी एकात्मकबाट संघीय व्यवस्थामा गयौँ । संवैधानिक राजतन्त्रबाट गणतन्त्रमा गयौँ । तर नेपाली कांग्रेसका पार्लियामेन्ट्रि डेमोक्रेसी छ । यो नै खतरामा पर्न लागिसक्यो । त्यो सबै नेतृत्वको कारणले गर्दा भएको हो ।



प्रतिक्रिया दिनुहोस्