Logo

सरस्वती वाणीमा दुई मुर्खः शासक र सल्लाहाकार



कालिदास एक महान कवि, नाटकार र संस्कृत भाषाका विद्धान हुन् । एकपटक कालिदास धेरै थकित भएर एक महिलाको घरमा पुग्छन् । महिलासँग कालिदासले पानी माग्छन् ती महिलाले पहिला आफ्नो परिचय दिएपछि पानी दिन्छु भन्दै परिचय दिन आग्रह गर्छिन् । कालिदासले भन्छन्, ‘म यात्री हुँ ।’ महिलाले भन्छिन्, ‘तिमी कसरी यात्री हुन सक्छौ यात्री त जम्मा दुई छन्– सुर्य र चन्द्रमा । जो कहिल्यै रोकिदैनन् । सधै चलिरहन्छन् कहिल्यै रोकिदैनन् ।’

सत्य बताऊ तिमी को हौ ? कालिदासले भन्छन्, ‘म पाहुना हुँ ।’ फेरि ती महिलाले भनिन्, ‘तिमी कसरी पाहुना हुन सक्छौ ? पाहुना त धन र योवन हुन् । धन र यौवन जान समय लाग्दैन ।’ भन तिमी को हौ ? महिलाको प्रश्नमाथि कालिदासले जवाफ दिदै भन्छन्, ‘म सहनशिलता हु । अब त पानी दिनुस् ।’ कालिदासले त्यति भनेपछि ती महिलाले भनिन्, ‘नाई सहनशिलता त धर्ति हो जो पापी र धर्मात्मा सबैको बोझ सहन्छिन् । जसलाई छाती चिरेर बिउ राख्दा अन्नको भण्डार दिन्छिन् । अर्को हो रुख जसलाई जति हिर्काए पनि मिठो फल दिन्छ ।’

साँच्चै भन त को हौ तिमी ? कालिदासले आफू हठी भएको बताउँछन् । उनको जवाफ सुनेपछि फेरी महिला बोल्छिन्, ‘हठि त जम्मा दुई छन्, एउटा नङ र अर्को केस । जति काटेपनि फेरी फेरी पलाउँछ ।’ सत्य बोल को हौ तिमी ?

कालिदास आफू पराजित भएको र अपमानित भएको महसुस गर्छन् र भन्छन्, ‘त्यसो भए म मुर्ख हु । ’ तब महिलाले भन्छिन्, ‘हैन तिमी मुर्ख कसरी हुन सक्छौ ? मुर्ख त दुई मात्र छन् पहिलो शासक जो बिना योग्यता पनि सबैलाई शासन गर्न सक्छन् । अर्को हो शासकका सल्लाहाकार । जसले शासकलाई प्रसन्न बनाउन उनका गलत कार्यलाई पनि मख्ख बनाउन सही सिद्ध गर्न चेष्टा गर्छन् ।’

महिलाको उत्तर दिदाँ दिदाँ थाकेका कालिदास आफुले फरक फरक परिचय दिएको कारण ती महिलाको गोडा समाउँदै क्षमा याचना गर्छन् र भन्छन्, ‘म कालिदास हु ।’ उनले आफ्नो वास्तविक परिचय दिएपछि ती महिलाले भन्छिन्, ‘उठ कालिदास म सरस्वती माता हु ।’ आवाज सुनेर माथि हेर्दा त साक्षात सरस्वती माता नै हुनुहुन्थ्यो । उनले भनिन्, ‘शिक्षाबाट ज्ञान प्राप्त हुन्छ न कि अंहकार । तिमीले शिक्षाको नाममा प्राप्त गरेकोे मान र प्रतिष्ठालाई आफ्नो उपलब्धी मान्यौ र अहंकारको सिंहासनमा बस्यौ ।

त्यसैले तिम्रो आँखा खोल्नलाई यस्तो नाटक गर्न पर्यो ।’ कालिदासलाई आफ्नो गल्ती महसुस हुन्छ र अन्तत पानी पिएर प्यास मेटाउछन् । विद्धतामाथि कहिल्यै घमण्ड नगरौ । घमण्डले विद्धतालाई नष्ट गरिदिन्छ । त्यसैले दुई चिजलाई कहिल्यै व्यर्थ जानु दिनु हुन्न । पहिलो अन्नको कण र दोस्रो समयको क्षण । समयमै बुझौ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्