काठमाडौं, २ भदौ । अर्थ र सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडा मन्त्री पदबाट हट्ने पक्का भएको छ । नेकपाको अन्तरबिरोध हल गर्न गठित छ सदस्यीय कार्यदलको सुझावपछि हुने मन्त्रीमण्डल पुनर्गठनमा खतिवडालगायत धेरैजना मन्त्रीहरू हट्ने प्रायः निश्चित भएको कार्यदलका एकजना सदस्यले बताएका छन् । फागुनमै राष्ट्रिय सभाको सांसदबाट बाहिरिएका उनलाई प्रधानमन्त्रीले एक्लौटी ढंगले पुनः अर्थमन्त्रीमा नियुक्त गरी सूचना तथा सञ्चार मन्त्रालयको समेत जिम्मेवारी दिएका थिए ।
राष्ट्रिय सभाको रिक्त सदस्य पदमा पार्टीको पूर्ववत् निर्णयबमोजिम वामदेव गौतमलाई नै लैजाने र प्रभावशाली मन्त्रालयको जिम्मेवारी दिने विषयमा सबैजसो नेता सहमत देखिएका छन् । टेक्नोक्रयाटलाई राजनीतिज्ञको बिल्ला भिराएर राष्ट्रिय सभा सदस्य, शक्तिशाली मन्त्रालय र केन्द्रीय सदस्यको जिम्मेवारी दिएपनि यतिखेर उनी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको लागि ‘घाँडो’ साबित भएका छन् ।
यसपटक सांसदमा पुनः नियुक्त नहुने र मन्त्रीबाट समेत बाहिरिनुपर्ने छनक पाएका खतिवडालाई चालु आर्थिक वर्षको बजेट घोषणा अगावै राजश्व दरमा गरिने फेरबदलको सूचना चुहाएर विद्युतीय गाडी र चक्लेटमा करोडौं रूपैयाँ अनियमितता गरेको आरोप लागेको छ । राष्ट्र बैंकमा रहेका छोरी ज्वाईंलाई काजमा मन्त्रालय झिकाएर अनियमिततामा संलग्न गराएको बारे दृष्टिले यसअघि धेरै पटक सप्रमाण समाचार प्रकाशित गरेको थियो ।
खतिवडाका कारण पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली निकै आलोचित बनेका छन् । अर्थशास्त्रसम्बन्धी आफूलाई ज्ञान नभएको र विज्ञलाइ अर्थमन्त्री बनायो भने कायापलट हुन्छ भनेरै खतिवडालाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको थियो । तर, उनको कार्यकाल पूर्णतः असफल भयो । खतिवडालाई अर्थमन्त्री बनाउनुपर्ने बाध्यता ओलीलाई के थियो भन्ने कुरा पनि उनको सचिवालयलाई थाहा छैन । खतिवडाको भदौ २० गते पुनः मन्त्री नियुक्त भएको ६ महिना पुग्दैछ । खतिवडाको ठाउँमा सम्भवतः सुरेन्द्र पाण्डे अर्थमन्त्री बन्ने बलियो सम्भावना छ ।-दृष्टिबाट/Photo By: Mukund kalikote