Logo

कूल ४१ अर्बभन्दा बढी राजस्व सङ्कलन



विराटनगर, २ भदौ:  मोरङमा आर्थिक वर्ष २०७६-७७ मा कूल रु ४१ अर्ब तीन करोड ७६ लाख राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ ।

यो राजस्व आव २०७५-७६ को भन्दा रु छ अर्ब २० करोड ५८ लाखले कम हो भने आर्थिक वर्ष २०७४÷७५ को भन्दा रु ६३ करोड ३६ लाखले बढी हो । आव २०७५-७६ मा कूल रु ४७ अर्व २४ करो ३४ लाख र आव २०७४-७५ मा रु ४० अर्ब ४० करोड ४० लाख राजस्व सङ्कलन भएको थियो ।

गएको आवमा चैत महिनाको ११ गतेदेखि शुरु भएको बन्दाबन्दीले आर्थिक क्रियाकलाप ठप्प हुनु, निर्माणको कार्य रोकिनु, बजार बन्द रहनुले पनि राजस्व कम उठेको प्रमुख पर्शुराम नेपालले जानकारी दिए । उनले गएको वर्षमा पूँजीगत बजेट रु तीन अर्ब ९४ करोड ५६ लाखमा रु तीन अर्ब १३ करोड ८७ लाख अर्थात् ७९ दशमलव पाँच प्रतिशत खर्च भएको जानकारी दिए । सोही वर्ष चालूतर्फ रु ३१ अर्ब ८० करोड १५ लाख बजेटमध्ये रु ३१ अर्ब १३ करोड २२ लाख खर्च भएको बताइएको छ ।

आवमा २०७५-७६ मा कूल रु ३० अर्ब ८४ करोड ७५ लाख वार्षिक बजेटमा रु २९ अर्ब ४४ करोड २१ लाख निकासा भएको थियो । पूँजीगततर्फ रु चार अर्ब ७५ करोड ३० लाख वार्षिक बजेटमा रु तीन अर्ब ५७ करोड ७८ लाख निकासा भएर ७५ प्रतिशत प्रगति हासिल गरेको थियो भने सोही अवधिमा चालू र पूँजीगत गरी कूल रु ३५ अर्ब ६० करोड पाँच लाखमा रु ३३ अर्ब एक करोड ९९ लाख निकासा भई ९३ प्रतिशत प्रगति हासिल भएको थियो ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्