काठमाडौं, २ भाद्र । यी रोए पनि दुःख लाग्छ यिनले सम्झे कि आमा भनीः यी हाँसे पनि सुक्ख छैन– यिनले बिर्से नि आमा भनीः
राष्ट्रकवि माधवप्रसाद घिमिरेको गौरी शोककाव्यको यो हरफ अजर अमर छ । नेपाली साहित्यका विशिष्ट कवि घिमिरेको भौतिक शरीर नरहेपनि उनका सृजनाहरु सधै सम्झनामा रहिरनेछन् । देशलाई सात्यिक रचनाबाट जोड्न उनले खेलेको भुमिका सदा स्मरणीय हुनेछ ।
राष्ट्रलाई साहित्यबाट यति ठूलो योगदान दिने राष्ट्रकविको जीवन भने निकै संघर्ष र पीडामा बितेको थियो । उनको जन्म २३ सेप्टेम्बर सन् १९१९ मा लमजुङ जिल्लाको पुस्तुनमा भएको थियो ।
घिमिरेले जीवनमा धेरै वियोग सहनुपरेको थियो । तीन वर्षकै उमेरमा उनले आमा गुमाएका थिए । बाल्यकालमा मातृवियोगको पीडाले उनको जीवनलाई नै प्रभावित बनायो ।
छ वर्षकै उमेरमा संस्कृतिको अध्ययन शुरु गरेका उनले ११ वर्षको उमेरमा घर छाडेर अध्ययनलाई बढाएका थिए । त्यसपछि उनी काठमाडौंमा आएर तीनधारा संस्कृत पाठशालामा अध्ययन गरेका थिए । १४ वर्षको उमेरमा गोरखापत्रमा ज्ञानपुष्प रचना प्रकाशित गरेका थिए । उनी गोरखापत्रमा सहसम्पादक भएर समेत काम गरेका थिए ।
उनी आफ्नो जन्मभुमि फर्किएर शिक्षकको रुपमा समेत काम गरेका थिए । लक्ष्मीप्रसाद देवकोटाको नेतृतवमा रहेको काव्य प्रतिष्ठानमा रहेर समेत काम गरेका थिए ।
घिमिरेको गौरी शोककाव्य लोकप्रीय छ । आफ्नी पत्नी गौरीको शोकमा डुबेका राष्ट्रकविले रचना गरेको शोककाव्य नेपाली साहित्यको विशिष्ट सृजना हो । उनको मालती मङ्गले, हिमाल पारी हिमाल वारी, अस्वस्थामा, राजेश्वरी काव्य र शकुन्तला महाकाव्य प्रकाशित छ । नेपाली साहित्यमा सयौं कविता लेखेका कवि घिमिरेको १८ अगष्ट २०२० मा निधन भएको छ ।-File Photo: Mukunda Kalikote