Logo

बुटवल लकडाउन: सङ्क्रमितको मनोबल बढाउन घरदैलो



बुटवल, ४ भदौ: कोरोना भाइरस सङ्क्रमितको मनोवल बढाउन बुटवल उपमहानगरपालिकाले घरदैलो कार्यक्रम थालनि गरेको छ । भाइरसको सङ्क्रमण समुदायमा बढदो अवस्थामा रहेको जनाइएको छ । सङ्क्रमण नियन्त्रणका लागि उपमहानगरपालिकाले नगर क्षेत्रमा पूर्णरुपले बन्दाबन्दी (लकडाउन) जारी गरेको छ ।

कोरोना सङ्क्रमितहरु उपमहानगरले सञ्चालन गरेका आइसोलेशनमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन् । यसका अतिरिक्त लक्षण नदेखिएका सङ्क्रमित र कन्ट्रयाक टे«सिङमा परेकाहरुलाई समेत सुरक्षित तरिकाले होम आइसोलेशनमा राखिएको छ ।

होम आइसोलेशनमा राखिएका सङ्क्रमित र तिनका परिवारलाई भेट्न उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी घर घरमा पुगेका छन् । उनले सङ्क्रमितको मनोवल बढाउन स्वास्थ्य सावधानीका उपायको जानकारीसहितको स्वास्थ्य लाभको पत्र र आयुर्वेद औषधि समेत लिएर सङ्क्रमितका घरमा भेटघाट थालेका छन् ।

विभिन्न परिस्थितिमा सङ्क्रमित हुन पुगेका र स्वास्थ्य सावधानी सहित होमआइसोलेशनमा बसेहरुलाई घरदैलोमै पुगेर स्वास्थ्यलाभको कामना गरिएको उनले बताए । उनले भेटघाट गर्ने क्रममा सुरक्षा सावधानी अपनाएको र अरुलाई पनि अपनाउन अपील गरेका छन् ।
नगरप्रमुख सुवेदीले बुधबार नगर क्षेत्रका विभिन्न २६ स्थानमा रहेको होम आइसोलेनका सङक्रमितलाई घरमै पुगेर भेटघाट गरेकाउपमहानगरपालिकाले जनाएको छ । यसक्रममा समुदाय स्तरमा सचेतनाका पत्र र सावधानीका उपायका बारेमा समेत सुरक्षा प्रवन्धसहित जानकारी गराउने गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

होम आइसोलेशनमा घरमा सुरक्षित रुपमा बसिरहेका बेलामा गेटमा एक्कासी मेयरसहतिको टोली ओखतीको पोको बोकेर आउदा एकदमै खुशी लागेको बुटवल–११, का एक सङक्रमित पुरुषले जानकारी दिए । उनले यस्तो अभियानले हरेक सङक्रमितको मनोबल उँचो बताए ।
प्रमुखसहित प्रमुख प्रशासकीय अधिकृत शर्मा, होम आइसोलेशन रहेका सम्बन्धित वडाका अध्यक्षहरु रामचन्द्र क्षेत्री, नारायणप्रसाद पुन र उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहसहितको टोलीले सुरक्षा प्रबन्धसहित सङक्रमितको स्वास्थ्य लाभको कामना गर्न होम आइसोशनमा पुगेका हुन् ।

बुटवलमा मात्रै बुधबारसम्म एक सय २७ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । ती मध्ये केही त बुटवल उपमहानगरपालिकाकै कर्मचारीसमेत छन् । उनीहरु सबै आइसोलेशनमा राखिएका छन् भने उनीहरुको परिवारमा पनि परीक्षण भइरहेको छ ।
उपमहानगरपालिकाले पछिल्लो समयमा बजारको भीड नियन्त्रण गर्न समेत नयाँ मापदण्ड बनाएर कडाई गरिरहेको छ । सचेतनाका कार्यक्रम र टोलटोलमा स्वयंसेवक समेत परिचालन गर्दै नियन्त्रणका काम प्रभावकारी बनाउन लागिएको नगर प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्