Logo

कोरोनाविरुद्ध अव शिक्षकहरु पनि परिचालित हुने



काठमाडौ, ५ भदौ । सरकारले कोरोना नियन्त्रणका लागि देशभरी शिक्षकहरुलाई परिचालन गर्नेभएको छ । देशभरी विद्यालयहरु बन्द रहेको र शिक्षकहरु खाली रहेकाले उनीहरुलाई परिचालन गर्दा सहज र प्रभावकारी हुने सरकारले निश्कर्ष निकालेको हो । स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा खेम कार्कीले कोरोना नियन्त्रण सम्वन्धी मापदण्डहरु पालना गराउन शिक्षकहरुलाई परिचालन गर्ने निर्णय भएको जानकारी दिए ।

शिक्षकहरुलाई स्वास्थ्य मापदण्ड कार्यान्वयन गराउन, सचेतना जगाउन, अनुगमन गराउन परिचालन गरिने उनले बताए । गाउँ टोलमा स्थानीय शिक्षकहरुलाई सवैले मान्ने, उनीहरु पनि आफै जान्ने र बुझ्ने भएकाले उनीहरुको भूमिका प्रभावकारी हुने डा. कार्कीको विश्वास छ । विषेश गरेर कोरोनाभाइरसबाट संक्रमित व्यक्ति र परिवारलाई समाजमा गरिने भेदभाव र घृणा नियन्त्रणका लागि पनि शिक्षकहरुले उनीहरुलाई सम्झाउने, बुझाउने गर्न आवश्यक रहेको उनले बताए ।

उनले भने, “शिक्षकहरुलाई मुख्य गरेर चेतानाअभिबृद्धिकै लागि आग्रह गरिने भएको हो । उनीहरुले टोलटोलमा सन्देश पुर्याइ सकेका र कोरोना नियन्त्रणका लागि प्रभावकारी योगदान पुग्नसक्छ भन्ने हाम्रो विश्वास छ ।”

उनले शिक्षकहरु परिचालित हुँदा स्वास्थ्यकर्मीहरुले सहयोग गर्ने, शैक्षिक सामग्री उपलब्ध गराउने र आवश्यक सुरक्षा सामग्रीहरु पनि प्रदशान गरिने जानकारी दिए । कोरोना विरुद्ध शिक्षकहरु परिचालन गर्ने कार्यलाई देशभरी अभियानका रुपमा चलाउन लागिएको सल्लाहकार डा. कार्कीले बताए ।-रेडियो एनआरएन/File Photo



प्रतिक्रिया दिनुहोस्