Logo

अर्थमन्त्री खतिवडा र विश्व बैंकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष सेफरबीच कुराकानी



काठमाडौं, ५ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडा र विश्व बैकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरबीच विश्वभर फैलिएको कोरोना भाईरसले नेपालको अर्थतन्त्र, स्वास्थ्य क्षेत्र र जनजीवनमा पारेको एवं थप पार्न सक्ने प्रभाव, कोभिड –१९ रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले हालसम्म चालेका कदमहरु तथा विश्व बैकको सहयोगमा सञ्चालित आयोजनाहरुबारे आज भिडियो कन्फरेन्स मार्फत छलफल भएको छ ।

अर्थमन्त्रीले विश्व बैंकवाट कोरोनाको असर न्यूनीकरण गर्न तत्काल सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै स्वास्थ्य जोखिम न्यूनीकरण तथा आर्थिक पुनरुत्थानका कार्यक्रमलाई निरन्तरता दिन थप सहयोगको लागि अनुरोध गरे । नेपालले आगामी दिनमा स्वास्थ उपचार, सामाजिक सुरक्षा, साना तथा मझौला उद्यमको व्यवसायिक निरन्तरता एवं रोजगारी सिर्जना हुने तथा ठूला आयोजनाको कार्यान्वयनमा जोड दिएको र सो को लागि आवश्यक श्रोत व्यवस्थापन चुनौतीपूर्ण भएको बताएका थिए ।

माननीय अर्थमन्त्रीले कोभिडको कारण नेपालको पर्यटन, उत्पादनमूलक उद्योग र निर्माण क्षेत्र बढी प्रभावित भएकोले वृद्धिदर न्यून हुन गएको भए पनि आर्थिक वृद्धि बाहेकका अन्य समग्र आर्थिक परिसूचकहरु सकारात्मक रहेको उल्लेख गर्नुभयो। उहाँले प्रतिकूलताका वावजुद मुद्रास्फिति ६ प्रतिशतको हाराहारीमा रहेको, चालू खाता घाटा कुल गार्हस्थ उत्पादनको २ प्रतिशतमा सीमित रहेको, शोधनान्तर बचत अमेरिकी डलर १।६ अरब भन्दा बढी नै रहेको, सरकारको संचित खाता ९ट्रेजरी० घाटामा नगएको, वित्तीय क्षेत्र सुदृढ रहेको समेत कारणले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सफलता मिलेको जानकारी गराएका थिए ।

माननीय अर्थमन्त्रीले बिषम परिस्थितिमा पनि विश्व बैकको सहयोगमा सञ्चालित आयोजनाहरुमा प्रगति राम्रो रहेको र आईडा मुलुकहरुमा नेपालको कार्य सम्पादन उत्कृष्ट हुनुले द्धिपक्षीय सहयोग थप विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । वित्तीय दबाबका बावजुद नेपालले विश्व बैक र अन्तर्राष्ट्रिय वित्त निगम ९आइ।एफ।सी।० को शेयरमा नेपालको कोटा वृद्धि गरी नेपाल र विश्व बैकबीच समूहबीच लामो समयदेखि रहेको न्यानो सम्बन्धलाई जीवन्त राखिएको बताए

अर्थमन्त्रीले स्वास्थ्य र आर्थिक पुनरुत्थान सगसंगै लैजानुपर्नेमा जोड दिदै नगद कोष व्यवस्थापनमा विश्व बैंकको बजेटरी सहायताले समेत सघाउ पुर्‍याएको र नीतिगत सुधारमा समेत विश्व वैंकको अनुभव र ज्ञान लाभदायी भएको जानकारी गराए । उनले विश्व बैंकसंग हालै संझौता भएको रणनैतिक सडक आयोजना हाल सम्मकै ठूलो एकल आयोजना रहेको र गत बर्ष सो लगायत अन्य महत्वपूर्ण आयोजना संझौता भई करिव १ अर्व डलर थप प्रतिवद्धता प्राप्त भएको बताए ।

विश्व बैकका उपाध्यक्ष हार्टविग सेफरले पोर्टफोलियो कार्यान्वयनमा नेपालको प्रगति पूर्व निर्धारित लक्ष्यको तुलनामा राम्रो रहनुको साथै दक्षिण एशियाली क्षेत्रमै उत्कृष्ट भएकोमा धन्यवाद दिए । उनले कोभिड १९ को नकारात्मक प्रभावका बावजुद माननीय मन्त्रीज्यूको नेतृत्वमा नेपालको समग्र अर्थतन्त्र सकारात्मक रहेकोमा उच्च प्रशंशा गरे । विभिन्न अवरोधका बावजुद नेपालले प्राप्त गरेको सफलता अनुकरणीय उदाहरणको रुपमा वोर्डमा प्रस्तुत गरिने योजना रहेको जानकारी गराए ।

बैंकका उपाध्यक्षले नेपाल जस्ता कम विकसित मुलुकहरुले सामना गरिरहेको आर्थिक श्रोतका अभाव परिपूर्ति गर्न हालको आईडा श्रोत अपर्याप्त हुने र सो वृद्धि गर्न तथा वित्तीय ऋणको तिर्नुपर्ने साँवा व्याज स्थगनको अवधि सन् २०२१ सम्म बढाउन विश्व बैंकका अध्यक्ष डेभिड मालपासको सकृयतामा विभिन्न दाता सदस्य राष्ट्रहरुसँग पहल गरिरहेको र सो अभियानमा माननीय मन्त्रीज्यूको सहयोगको लागि समेत अनुरोध गरे ।

उनले दुवै पक्षवाट तयारी पूरा भएका थप चार आयोजनाहरु वोर्डमा निर्धारित मिति मै पेश गर्ने गरी तयारी भैरहेको तथा प्रारम्भिक तयारीमा रहेका अन्य आयोजना पनि अगाडि वढाउन विश्व बैक तयार रहेको बताए। नेपालको सार्वजनिक ऋण व्यवस्थापनको साथै समष्टिगत आर्थिक अवस्था पनि राम्रो रहेकोले कोभिड १९ को प्रभाव कम हुने वित्तिकै नेपालको अर्थतन्त्र आफ्नो लयमा फर्कने विश्वास व्यक्त गरे ।

उक्त छलफलमा विश्व बैंकका कन्ट्री डाईरेक्टर फारिश हदाद जेरभोस, अप्रेसन म्यानेजर लाडा स्ट्रोलकोभा लगायत विश्व बैकका अन्य अधिकारीहरु, अर्थ सचिव शिशिर कुमार ढुंगाना र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह सचिव श्रीकृष्ण नेपालको समेत उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्