Logo

नेपालका अस्पतालमा आइसीयू र भेन्टिलेटर अभाव हुँदै



राजविराज, ६ भाद्र। राजविराजस्थित अस्पतालमा आइसीयू र भेन्टिलेटर नहुँदा कोरोना सङ्क्रमित बिरामीको उपचार प्रभावित बनेको छ । त्यहाँ आइसीयू सुविधा र भेन्टिलेटर नुहँदा कोभिड–१९ सङ्क्रमित जटिल प्रकृतिका बिरामीको यहाँबाट रेफर गर्न थालेको छ ।

आइसीयू र भेन्टिलेट अभावले शुक्रबार नै केही बिरामीलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ । राजविराजस्थित आइसोलेसनमा उपचाररत एक बिरामी रेफर भएको बताइएको छ ।

यसअघि पनि सङ्क्रमित बिरामीहरुको रेफर गरिएको थियो । रेफर गरिएकामध्ये दुई जना सङ्क्रमित बिरामीको मृत्यु भइसकेको छ भने एक जनाको अस्पताल ल्याउँदै एम्बुलेन्समा मृत्यु भएको थियो । अर्को एक जनाले यहाँ आवश्यक पर्न सकिने आइसीयू र भेन्टिलेटर सुविधा नदेख्दा सीधै उपचारको लागि पुगेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । जिल्लामा चार जना सङ्क्रमित बिरामीको हालसम्म मृत्यु भइसकेको छ ।

लक्षणसहितको कोरोना सङ्क्रमितको बिरामी उपचारको लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पुगेपछि श्वासप्रश्वासमा समस्या आउनेबित्तिकै धरान वा विराटनगर रेफर गरिहाल्ने सो अस्पतालका एक चिकित्सकले भन्नुभयो, आइसीयू र भेन्टिलेटर अभावले जटिल समस्या आउनुभन्दा पहिले नै बाहिर पठाउनुपर्ने बाध्यता भएको छ ।

गत साउन १ गते मृतक सङ्क्रमित ७३ वर्षीय व्यापारीले यहाँको अस्पतालमा सुविधा नदेखिएपछि राजविराजमा भर्ना नभई सीधै विराटनगर हुँदै धरान पुगेको थियो । त्यस्तै साउन २१ गते राति रुपनी गाउँपालिका ५ गढिया धुरगामका ४५ वर्षीय पुरुषको श्वासप्रश्वासमा समस्या भएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । आइसीयू र भेन्टिलेटर नुहँदा अवस्था गम्भीर बन्दै जाँदा थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको थियो । त्यहाँ अस्पतालको गेट पुग्दै मृत्यु भएको थियो ।

त्यसैगरी साउन २८ गते जिल्लाको डाकनेश्वरी नगरपालिका ८, भीमपुर स्थायी घर भई राजविराज नगरपालिका वार्ड नम्बर ६ सिरहारोड बसोबास गर्दै आएका ७२ वर्षीय वृद्धको पनि जटिल अवस्थामा उपचार नपाएर मृत्यु भएको छ । पछिल्लो पटक भदौ २ गते मृत्यु भएका राजविराज वडा नं। ४ का २८ वर्षीय युवक पनि श्वासप्रश्वासको समस्या भएर छिन्नमस्ता अस्पताल पुगेका थिए । अवस्था गम्भीर रहेको भन्दै सो अस्पतालले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा रेफर गरेको थियो । त्यहाँ पुगेको केही क्षणमै सोही दिन दिउँसो मृत्यु भएको थियो ।

कोरोना सङ्क्रमित चारै जनालाई आइसीयू र भेन्टिलेटरको आवश्यकता देखिएको थियो । तर, उक्त सुविधा नहुँदा ज्यान गुमाउनु परेको स्वास्थ्यकर्मीहरूले स्पष्ट पार्नुभएका खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्