चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रवन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले निजी मेडिक कलेजहरुले कारोनो संक्रमितहरुको उपचार गराईरहेको स्पष्ट पारेका छन् । शनिबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भनेका छन्,-‘सम्पूर्ण मेडिकल कलेजहरू कोरोना सस्पेक्टेट विरामीहरूले भरिएका छन् । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले हामीलाई गाइडलाइन दिएको छ । कोभिड क्लिनिक चलाउनु भनेको छ । हामीले कोभिड क्लिनिक चलाएका छौँ । हामी सबै मेडिकल कलेजहरूले लेभल ३ मा सेवाहरू दिईरहेका छौँ । कोरोना भनेको धेरै नराम्रो प्यान्डेमिकको रूपमा आएको छ । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने हामीलाई क्वारेन्टाइन र आइसोलेसन बेडको आवश्यकता छ । हाम्रो धेरै विरामीहरू आइसोलेसनको लागि राखिएको छ । त्यसैले सरकारले आइ.सी.यु, क्वारेन्टाइनको लागि बढी प्राथमिकता देओस् । सरकारले हामीलाई लेभल ३ तोकिदिनुस्, हामी जहिले पनि तयार छौँ ।’ प्रस्तुत छ अध्यक्ष डा. न्यौपानेसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :
देशभरि कोरोनाको संक्रमण ह्वात्तै बढेको छ । निजी मेडिकल कलेजहरूले के गरिरहेको छ ? तपाईहरूको काम, अधिकार र दायित्व के हो ?
निजी मेडिकल कलेज र टिचिङ्ग हस्पिटलमा गरेर लगभग ५०० देखि ७०० बेडहरू छन् । नेपालगञ्जतिर सरकारले तोकेको हस्पिटलहरूले कोरोनाको सेवा दिईरहेका छन् भने अरू हस्पिटलहरूले नन् कोरोनाका विरामीहरूको उपचार गरिरहेका छन् ।
निजी मेडिकल कलेजहरूले काम गरेन, विरामीहरू जाँचेन भनेर गम्भीर आरोप आएको छ, किन ?
सम्पूर्ण मेडिकल कलेजहरू कोरोना सस्पेक्टेट विरामीहरूले भरिएका छन् । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले हामीलाई गाइडलाइन दिएको छ । कोभिड क्लिनिक चलाउनु भनेको छ । हामीले कोभिड क्लिनिक चलाएका छौँ । हामी सबै मेडिकल कलेजहरूले लेभल ३ मा सेवाहरू दिईरहेका छौँ । कोरोना भनेको धेरै नराम्रो प्यान्डेमिकको रूपमा आएको छ । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने हामीलाई क्वारेन्टाइन र आइसोलेसन बेडको आवश्यकता छ । हाम्रो धेरै विरामीहरू आइसोलेसनको लागि राखिएको छ । त्यसैले सरकारले आइ.सी.यु, क्वारेन्टाइनको लागि बढी प्राथमिकता देओस् । सरकारले हामीलाई लेभल ३ तोकिदिनुस्, हामी जहिले पनि तयार छौँ ।
सरकारले हिजो प्रस्ट रूपमा भनेको छ, कसैले विरोध गरे हामी कानुन अनुसार विरोध गर्र्छौँ, अस्पतालमा कुनै पनि अस्पतालहरू उपचार गर्न तयार भएनन् भने ?
विल्कुल राम्रो कुरा हो । त्यसलाई हामी नराम्रो भन्दै भन्दैनौँ तर तयारी पनि गराउनुपर्छ । जस्तो जम्ममा १५ बेडको अस्पताल खोलेको छ, अनि त्यो अस्पतालमा १० जना अन्य विरामी राखिदिने र ५ जना संक्रमितलाई राखिदिने हो भने त त्यो त भएन ।
नेशनल मेडिकल कलेज वीरगञ्जले त उपचार गरेन नि त ?
अहिले सबैभन्दा बढी उपचार मेडिकल कलेजले गरेको छ । नारायणी क्षेत्रीय अस्पताल बन्द गरियो । सरकारी अस्पताल बन्द गर्दा मेडिकल कलेजले धानेको छ । त्यसैले मेडिकल कलेजले एकदमै राम्रो गरेका छन् । सबै जनतालाई उपचार दिन जटिल अवस्था छ तर पनि सकेसम्म धेरै सेवा दिने हिसाबले हामी अगाडि बढिरहेका छौँ । अहिले डाक्टर, नर्स, हेल्थ वर्करहरूलाई एकदमै प्रोत्साहित गर्ने समय हो । सके प्रोत्साहित गरौँ, नसके कुनै नराम्रो कुरा नगरौँ । राम्रो कुरालाई प्रशंसा गरौँ । किनभने हामी अझै ठुलो संकटमा जानेवाला छौँ कि हामीले कल्पना गरेकोभन्दा ठुलो संकटमा जानेवाला छौँ ।
त्यसोभए उपचार सबैलाई भईरहेको छ, चितवनमा कसैलाई समस्या छैन ?
चितवनमा कुनै समस्या छैन ।
तर सरकारको समितिहरूको पनि निर्णयहरू आएका छन् । तत्काल आइ.सी.यु र भेन्टिलेटरको व्यवस्था गर्नु भनेर संसदीय समितिले निर्णय दिईसक्यो । भेन्टिलेटर चाहिएको हो, अब ?
भन्यो भने सरकारलाई गाली गरेको जस्तो हुन्छ । जस्तो अमेरिकाले ४०००० भेन्टिलेटरको माग गरेकोमा बल्ल अहिले सप्लाई भएको छ । अहिले माग गरियो भने अर्को १० देखि १५ दिन लाग्ला । भेन्टिलेटर नेपालमा आउन अर्को ५ देखि ६ महिना लाग्छ । चाँडो ल्याउने हो भने चाइनिज भेन्टिलेटर ल्याउने हो । त्यसमा चाइनाले सप्लाई गर्ने हो ।