भदौ ६, काठमाण्डौ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नको लागि बन्द गरिएको अन्तराष्ट्रिय हवाई भदौ १ गतेबाट सुरु गर्ने तयारी थियो । तर कोरोना भाईरस संक्रमण बढेसँगै भदौ १६ गतेसम्मका लागि स्थगित गरिएको थियो । त्यसका लागि अहिले तयारी तीब्र पारिएको छ । तर आन्तरिक उडान बारेमा छलफल भैइरहेको छ ।
साउन ६ मा लकडाउन अन्त्यको घोषणा गरिएयता संक्रमण अस्वाभाविक रुपले बढेको पाइएपछि भदौ १ गतेबाट हवाई सेवा सञ्चालन रोकिएको थियो । यही बिहीबार बसेको मन्त्रीपरिषद्को क्याबिनेट बैठकबाट सरकारले पीसीआर परीक्षण सहज भएका मुलुकहरुबाट शर्तसहितको भदौ १६ गतेदेखि नियमित हवाई उडान सुरु गर्ने निर्णय गरेको छ ।
उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु आउन सक्नेछन् र उनीहरुको ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने छ । काठमाडौंमा आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था रहेको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका मापदण्डहरु कडाइका साथ लागू गरिएमा आन्तरिक हवाई उडान तत्काल सुचारु गर्न सकिने नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले बताएका छन् ।
प्राधिकरणले कोराना भाइरस नियन्त्रणका लागि सुरक्षाका मापदण्डहरुको पनि सम्पूर्ण तयारी रहेको बताएको छ । स्यानिटाइजिङ, सामाजिक दूरी, जहाज भित्र सुरक्षा मिलाउने लगायतका मापदण्ड पूरा गरेको प्राधिकरणको भनाई छ । सुरक्षाका उपाय अपनाएर पूरानै टिकट मूल्यमा पूर्ण क्षमतामा यात्रु लान सकिने रहेको छ । क्षमताभन्दा कम यात्रु ओसारपसार गर्दा टिकट मूल्य महंगो पर्ने क्षेत्री बताउँछन् ।
मलेसिया, चीन, क्यानडा, युएई, दक्षिण कोरिया, हङकङ, युरोपेली मुलुक, जापान, अष्ट्रेलिया तथा अमेरिकाबाट नियमित उडानमार्फत यात्रु ल्याउन सकिने बताए । तर पीसीआर परीक्षण नभएका साउदी अरब, कुवेत, कतार लगायतका देशबाट नियमित उडानबाट यात्रु ल्याउन नपाइने सरकारले निर्यण गरेको छ ।