–विपिन देवः भारतका परराष्ट्रमन्त्री डा. एस. जयशंकरद्वारा लिखित पुस्तक “दी इण्डिया वेः स्ट्राटेजी फोर एन अन सर्टेन वर्ल्ड” जुन २० मा प्रकाशित भएको छ । भारतका परराष्ट्र नीति निर्माताहरुले पुस्तकको माध्यमबाट नीति निर्माणमा मात्रै होइन कि बौद्धिक अभ्यास र बहसलाई पनि प्रभावित गर्दछन् । परराष्ट्रमन्त्रीहरु नटवर सिंह देखि डा. एस. जयशंकर सम्म पुस्तक प्रकाशन र बौद्धिक बहसमा अभिरुची राखेका पाइन्छ । त्यस्तै परराष्ट्र सचिवहरु श्याम शरण देखि शिवशंकर मेनन सम्म पनि पुस्तक लेख्ने बौद्धिक अभ्यास गरेको देखिन्छ । श्याम शरण का पुस्तक “इण्डियाज वर्ल्ड“ र शिवशंकर मेनन द्वारा लिखित पुस्तक “च्वाइसेसः इनसाइड द मेकिङ्ग इण्डिया” जस्ता मौलिक पुस्तकहरुले छापाखानाहरुमा यथेष्ट चर्चा पाएको थियो । हालै जयशंकरको पुस्तक ले भारतका परराष्ट्र नीतिका केहि सुत्रात्मक व्याख्या गरेको देखिन्छ । अर्थात् चीन र अमेरिका को बढ्दो गतिरोध, पश्चिम एसियामा शक्ति केन्द्रहरुको खेल, रुसको बढ्दो दबदबा जस्ता प्रतिनिधि घटनाहरुको आधारमा भारतले के कस्ता रणनीतिका साथ अगाडी बढ्नु पर्दछ भने तर्क अगाडी सारेका छन् ।
बदलिँदो परिवेशमा पश्चिमी एसियामा एउटा महत्वपूर्ण घटना घटेको देखिन्छ । यू.ए.ई. र इजरायल को बीच शान्ति सम्झौता भएको छ । यू.ए.ई. र इजरायल को सम्झौता ले अमेरिकी चुनावी बहसमा पर्याप्त ठाउँ लिएको देखिन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी सम्झौता को महानायक आफुलाई घोषणा गर्दै त्यसलाई चुनावमा पुञ्जीकृत गर्न उद्वेलित देखिन्छ । यहाँ सम्म कि अमेरिकी राष्ट्रपतिले नोबेल पुरस्कार पाउनुपर्ने केहि छापाखानाहरुले पनि चर्चा गरेको देखिन्छ । अर्को तर्फ इजरायल र यू.ए.ई. को सम्झौता ले गर्दा पश्चिम एसिया र दक्षिण एसियामा धेरै उथलपुथल भएको देखिन्छ । टर्कीले यस सन्धिलाई धोकाको संज्ञा दिएका छन् भने प्यालेस्टाइनका प्रधानमन्त्री महमुद आवास एकदम आक्रोसित देखिएका छन् । आक्रोसित शैलीमा आफ्ना राजदुतलाई पनि यू.ए.ई. बाट फिर्ता बोलाएर यू.ए.ई. सँग विभिन्न किसिमको दौत्य सम्बन्ध विच्छेद गर्ने समेत घोषणा गरेको देखिन्छ । इरानी विदेशमन्त्री जवाज जारिफलेपनि यस सन्धिलाई चर्को स्वरमा निन्दा गरेको देखिन्छ । अर्थात् इरान, टर्की, प्यालेस्टाइन लगायत कट्टरपन्थी इस्लामिक शक्ति केन्द्रहरु आक्रोसित देखिएता पनि इस्लामिक जगतका स्वघोषित नेता पाकिस्तानले यसमा ठोस अभिव्यक्ति दिएको पाइदैन । पाकिस्तानका सैनिक कमान्डर सँग साउदी राजकुमार को शिष्टाचार भेट समेत नहुनु जस्ता परिघटनाले गर्दा इस्लामिक जगतमा पाकिस्तानको शाख स्वखलित हुँदै गइरहेको अवस्था छ । इजरायल र यू.ए.ई. को सम्बन्ध को पक्षमा साउदी अरेबिया लगायत धेरै इस्लामिक राष्ट्रहरु भएता पनि कट्टरपन्थी क्रियाकलाप ले गर्दा उनीहरुको अभिव्यक्ति सार्वजनिक भएको छैन ।
गाजा र लेबनानमा सक्रिय लडाकु समुहले यू.ए.ई. र इजरायलको शान्ति सम्झौतालाई निन्दा गरेका छन् । गाजा क्षेत्रमा सक्रिय रहेका हमास र लेबनानमा सक्रिय रहेका हजबुला समुहले पनि घोर भत्सर्ना गरेको देखिन्छ । यस परिवेशमा भारतले यू.ए.ई. र इजरायल सँग कस्तो सम्बन्ध राख्ने भन्ने मुर्धन्य प्रश्न भारत समक्ष उभिएको छ । इजरायल भारतलाई हरेक आपतकालीन अवस्थामा सहयोग र सद्भाव देखाएको छ भने सारा संसारमा यहुदीहरूमा आक्रमण भएको अवस्थामा भारतले यहुदीहरुलाई उच्च आदरका साथ आत्मसात गरेको परिघटनाहरुले इजरायल र भारतको सम्बन्ध लाई प्रतिबिम्वित गर्दछ । अर्को तर्फ संसारको व्यापारिक केन्द्र यू.ए.ई. भएको कारणले गर्दा भारतीय लगानी यू.ए.ई. अधिक रहेको देखिन्छ । भारतको रेमिटेन्स यू.ए.ई. बाट प्रचुर मात्रामा रहेको देखिन्छ । वर्तमान अवस्थामा आर्थिक रुपमा सम्पन्न राष्ट्रहरु साउदी अरेबिया, यू.ए.ई. इजरायल खुला रुपमा अमेरिकी गोलाबन्दमा उभिएको अवस्था छ ।
भारत र चीनको तनावमा भारतको पक्षमा आफ्ना सम्पूर्ण सामरिक शक्ति का साथ अमेरिका उभिएको अवस्थाले गर्दा क्वार्डका मुलुकहरु अस्ट्रेलिया, जापान, आसियानका मुलुकहरु र इण्डो(प्यासिफिक सम्बद्ध मुलुकहरु आफ्नो अभिमत भारतको पक्षमा राखेको थियो । पश्चिमी एसियामा भारतको सांस्कृतिक सम्बन्ध इरान सँग बलियो छ । विगतका वर्षमा इरान र भारतका बीच सहकार्य र सहयात्रामा पनि प्रचुर मात्रामा भएको थियो । भारतलाई “चावश्हार” बन्दरगाहको योजना दिएर इरानले भारतलाई अफगानिस्तान लगायत पूर्वीय युरोपमा पहुँच बनाउन आवश्यक गोरेटो तयार गरेको थियो । यस अवस्थामा भारतले इजरायल र यू.ए.ई.को शान्ति सम्झौता लाई एकातर्फ अनुमोदन गर्नुपर्दछ भने अर्को तर्फ आफ्ना पौराणिक सम्बन्ध भएका मुलुकहरु सँग पनि सन्तुलन बनाउँदै अगाडी बढ्नुपर्दछ ।
भारतको आर्थिक महत्वाकांक्षा यसको आसियान नीतिमा निर्भर गर्दछ । संसारको सबभन्दा सबल र सक्षम क्षेत्रीय गठबन्धन आसियान हुन । सार्क, युरोपेली युनियन, नेटो जस्ता इस्लामिक सहयोग संगठन जस्ता अनेकौं क्षेत्रीय संघ(संगठनहरुमा अनेकौ उतार चढावले गर्दा स्थायीत्व नीति लिन सकेको छैन । तर आसियान ले आफ्नो उषा काल देखि विकास र समृद्धिको धेरै कोसे(ढुङ्गा पार गरिसकेको छ । आसियान भन्नाले ब्रुनाई, कम्बोडिया, इण्डोनेसिया, लाओस, भियतनाम, म्यान्मार, फिलिपिन्स, मलेसिया, सिंगापुर र थाईल्याण्ड हुन् ।
भारत स्वतन्त्र हुन बितिक्कै इण्डोनेसिया को सांस्कृतिक विकासको लागि दिल्लीमा सन् १९४९ मा एउटा बृहत सम्मेलन राखेको थियो । आसियान मुलुकहरु सोभियत रुसको प्रभावमा नजाओस् भन्ने अमेरिका सुरु देखि नै चिन्तित रहेको कारणले गर्दा अपेक्षाकृत प्रजातन्त्र यी मुलुकहरुमा बलियो हुन पुग्यो । सोभियत संघको विखण्डन भएपछि भारत आर्थिक रुपमा दल(दलमा फस्यो । त्यस्तो संकटपूर्ण अवस्थामा सन् १९९० मा पी भी नरसिंहा रावले “लुक इष्ट पोलिसी” लाई कार्यरूप दिएर आर्थिक उदारीकरणको यात्रा अगाडी बढाए । कालान्तरमा सन् १९१५ ताका नरेन्द्र मोदीले “लुक इष्ट पोलिसी” लाई “एक्ट इष्ट पोलिसी” मा शाब्दिक रुपान्तर गरे । भारतले आसियान सँगको सम्बन्धलाई उच्च महत्व दिँदै सन् १९९२ मा डाइलग पार्टनर र सन् २००२ मा स्मिट लेभल पार्टनरको रुपमा आफुलाई परिचित गराएको देखिन्छ । भारत र आसियानका मुलुकहरुको व्यापारिक कारोबार उच्च रहेको देखिन्छ । हाल ७० बिलियन डलर रहेको व्यापारिक कारोबारमा भारतले केहि मात्रामा व्यापारिक घाटा भोग्नु परेको छ । अर्को तर्फ आसियान बाट भारतमा निवेश लगभग १५ बिलियन डलर रहेको देखिन्छ । विदेश निवेश्को ९०% मात्र सिंगापुर बाट रहेको देखिन्छ । भारतको आसियान सँगको सम्बन्धले नै भारत महाशाक्तिमा परिवर्तित हुन सक्ने सम्भावना रहेको छ । भियतनाम, थाइल्याण्ड, फिलिपिन्स का प्रविधिको प्रयोगले नै गर्दा चीन ठुलो आर्थिक शक्ति को रुपमा परिवर्तन भयो ।
हाल दक्षिण सागरमा चीनको दब(दबाले गर्दा आसियान मुलुकहरु चीन सँग आक्रान्त छन् । आसियान मुलुकहरु चीनबाट हेपिएका र चेपिएका छन् । शक्ति सन्तुलनको अवधारणा अनुसार चीनको वैकल्पिक शक्तिको रुपमा आसियानले भारतलाई हेर्न चाहेको अवस्था छ । भारतको सांस्कृतिक पहुँच आसियानका हरेक मुलुकहरुमा देखिन्छ । कम्बोडियाको अंकुर भाट देखि थाइल्याण्ड अयोध्या सम्म, इण्डोनेसियाको हिन्दु तीर्थयात्रीहरु गन्तव्य स्थल बाली देखि लाओस सम्म हिन्दु सभ्यताको प्रभाव आसियानमा देखिएको छ । भारत आर्थिक रुपमा सम्पन्न सामरिक रुपमा सबल हुन पश्चिमी एसिया र आसियान सँगको सम्बन्धलाई अगाडी बढाउँदै जानुपर्दछ । महाशक्ति हुन हरेक समीकरण, गठबन्धन र गठजोडमा सुक्ष्म निरीक्षण हुनुपर्दछ ।