Logo

‘कोभिड बिरामी भएका भन्दा अन्य अस्पतालमा कोरोना जोखिम बढी’



काठमाडौं, ८ भाद्र । कोभिड–१९ का बिरामी राखिएका भन्दा अन्य अस्पतालमा कोरोनाको जोखिम बढी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ‘कोभिड’ अस्पताल भन्दा ‘नन(कोभिड’ अस्पतालमा जोखिम बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा जागेश्वर गौतमको भनाइ छ।

काठमाडौं उपत्यकामा कोरोना भाइरस कोभिड-१९ संक्रमितको संख्या बढ्दै जाँदा ‘नन कोभिड’ अस्पतालमा जोखिम बढेको उनको भनाइ छ। ‘कोभिड-१९ पोजिटिभ बिरामी भर्ना भएका अस्पतालमा भन्दा अन्य जनरल अस्पतालमा कार्यरत चिकित्सक, नर्स र स्वास्थ्यकर्मीमा कोभिड(१९ संक्रमण बढी भएको पाइएको छ’, प्रवक्ता गौतमले भने।

कोरोना जोखिमबाट बच्न नेपाल चिकित्सा परिषद् र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको मापदण्ड अनुसार काम गर्न प्रवक्ता गौतमले सबै स्वास्थ्यकर्मीलाई अनुरोध गरेका छन्।

चिकित्सकले मापदण्ड अनुसारको स्वास्थ्य सुरक्षा सामग्री नपाएको भए मन्त्रालयले उपलब्ध गराउने प्रतिवद्धतासमेत उनले जनाएका छन्। प्रवक्ता गौतमले जनरल अस्पतालको ओपीडी र वार्डमा काम गर्ने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई अनिवार्य रुपमा सुरक्षा सामग्री उपलब्ध गराउन सम्बन्धित अस्पतालका निर्देशक र सुपरिटेन्डेन्टलाई निर्देशन दिएका खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्