Logo

समस्यामा सम्भावनाः बन्दाबन्दीमै ‘डिजिटल’



काठमाडौँ, ८ भाद्र । निषेधाज्ञाका कारण प्रायः सरकारी कार्यालय बन्द रहे पनि दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणको दैनिक कामकाजमा कुनै असर परेको छैन । सामान्य दिनमा जस्तै दर्ता चलानी, टिप्पणी उठाउनेदेखि त्यसको तहगत निर्णय गर्ने र निर्देशन अनुसारको जिम्मेवारी कार्यान्वयन गर्नेजस्ता काम नियमित नै छन् । भौतिक रूपमा प्राधिकरणको कमलादीस्थित कार्यालय बन्द छ तर पनि सेवा प्रदायकका समस्याको समाधान र अनुगमनका काम भने भइरहेका छन् ।

प्राधिकरणले कार्यान्वयनमा ल्याएको ‘अटोमेसन’ प्रणालीमा औपचारिक निर्णयलाई विद्युतीय हस्ताक्षरको प्रयोग गरेर कानुनी मान्यतासमेत प्रदान गरिएको छ । यसका लागि प्राधिकरणले छुट्टै कार्यविधि जारी गरेको थियो । नियमित किसिमका कार्यसम्पादन र अनुमति पत्र वितरण र नवीकरण, अनुगमनजस्ता सेवासँग सम्बन्धित काममा अटोमेसन प्रणाली प्रभावकारी देखिएको प्राधिकरणका उपनिर्देशक हिरण्यप्रसाद बस्ताकोटी बताउनुहुन्छ । चैतदेखि जारी करिब चार महिनाको बन्दाबन्दीको समयमा नै प्राधिकरणले अटोमेसन प्रणाली कार्यान्वयनमा ल्याइसकेको थियो । पछिल्लोपटक जारी निषेधाज्ञाका क्रममा यो प्रयोगका लागि झन् सहज बन्दै गएको उहाँको अनुभव छ ।

कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि अघिल्लोपटक चार महिना बन्दाबन्दी र अहिले फेरि निषेधाज्ञा जारी छ । बीचमा साउनभर खुकुलो भए पनि बाँकी समय भौतिक दूरी कायम गर्ने उद्देश्यसहित धेरै सरकारी कार्यालय बन्दकै अवस्थामा छन् । यस्तोमा कतिपय कार्यालयले भने आफूलाई ‘स्मार्ट’ बनाउने अवसरका रूपमा प्रयोग गरेका छन् अनलाइनबाटै सेवा प्रदान गरेर । दूरसञ्चार प्राधिकरणले गरेको अभ्यास त्यसैको एउटा उदाहरण हो ।

पहिलोपटक बन्दाबन्दी घोषणा भएको करिब एक महिनापछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपलब्ध गराउने केही खाद्यान्न अनलाइनबाटै अर्डर गर्नसक्ने सुविधा सुरु भयो । त्यति मात्र हैन उपत्यकाको चक्रपथ क्षेत्रभित्र निःशुल्क डेलिभरीको सुविधा दिएर कम्पनीले नयाँ अभ्यास सुरु गरेको खबर आजको गोरखापत्रले उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्