Logo

मुख्यमन्त्री राउतको काम देखेर सबैले नैराश्यता व्यक्त गर्दैछन् : मनिष सुमन



जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा प्रदेश नम्बर २ का सांसद मनिष सुमनले नेपालमा संघीयता असफल भइसक्इो भनेर भन्न नमिल्ने जिकिर गरेका छन् । अहिले नै संघीयता सफल वा असफल भनेर मूल्यांकन गर्ने बेला नभएको पनि उनको जिकिर छ । सोमबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संघीयतापछि साँच्चै आम जनतामा फाईदा पुग्न सक्दछ भन्ने कुराको भान दिलाउन सक्ने ल्याकत भएको व्यक्ति अब मुख्यमन्त्री बन्नुपर्ने धारणा राखेका छन् । प्रस्तुत छ नेता सुमनसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश ः

संघीयता सफल कि असफल ?

संघीयता असफल भईसक्यो भनेर भन्न मिल्दैन । यसको लागि अढाई वर्षको अवधिमा मूल्याकंनको लागि समय भएन । अब प्रदेश २ को नेतृत्व कसले लिन्छ भन्नुभन्दा पनि आम जनताले अपेक्षा गरेअनुसार त्यत्रो बलिदानबाट आएको संघीयता संस्थागत हुन्छ कि हुँदैन, हामीले विकासका जुन कल्पनाहरू गरेका थियौँ संघीयता आएपछि, त्यसमा टेवा पुग्छ कि पुग्दैन भन्नेमा विचार गर्नुपर्छ । संघीयता भनेका यस्ता यस्ता सुन्दर विषय हुँदा रहेछन्, संघीयतापछि साँच्चै आम जनतामा फाइदा पुग्न सक्दछ भन्ने कुराको भान दिलाउनसक्ने ल्याकत भएको व्यक्ति अब मुख्यमन्त्री बन्नुपर्छ । त्यस्ता भान दिलाउन सक्ने टिमले प्रदेश नम्बर २ सञ्चालन गर्नुपर्दछ नभए हामी त पार्टीभित्र प्रदेश नम्बर २ को स्थिति के होला भनेर चिन्तित छौँ ।

त्यसोभए मुख्यमन्त्री परिवर्तन हुन्छ प्रदेश नम्बर २ मा ? तपाईको पार्टीले नयाँ अनुहार ल्याउँछ ?

म त यो पुरै टिम परिवर्तन भएर नयाँ अनुहार देख्दैछु ।

कसरी आउँछ ? पार्टीभित्र नेताहरूको जुन किसिमको चलखेल हुन्छ, उपेन्द्र यादव, महन्थ ठाकुर, डा. बाबुराम भट्टराईले चाहनुपर्ला नि त मुख्यमन्त्री परिवर्तनको लागि त ?

उहाँहरूले चाहनैपर्छ । चलखेल उहाँहरूले गर्नुहुन्न । चलखेल हुँदैन । इच्छा राख्नु त स्वभाविक पनि हो । पार्टीका शीर्ष नेताले पनि फलानो भईदिए हुन्थ्यो कि मनको कुनै कुनामा इच्छा राख्नु स्वभाविक कुरा हो तर विश्वास राख्नोस्, राजनीतिक दल ऐन, २०७३ र प्रचलित लोकतान्त्रिक मान्यताअनुसार सांसद साथीहरूले आफुमध्येबाट संसदीय दलको नेता छनौट गर्नुहुनेछ । वर्तमान टिम जुन छ, त्यो उपयुक्त छैन ।

किन छैन ? लालबाबुजीले भनिरहनुभएको छ, मैले संकटको बेलामा काम गरेको छु भनेर । प्रदेश नम्बर २ मा म नै मुख्यमन्त्री हुनुपर्छ भनेर ?

उहाँको काम देखेर सबैले नैराश्यता व्यक्त गर्दैछन् ।

तपाईको पार्टीले पनि त लाइन परिवर्तन गर्नुपरेन ? संघीयताविरोधी अभियानमा छन्, धेरै मान्छेहरू त्यहाँ ?

संघीयता विरोधी अभियानवालाहरूलाई त हामीले आफै जवाफ दिन सक्छौँ । संघीयता त्यसै सित्तैमा आएको कुरा होइन । संघीयताको लागि यत्रो ठुलो बलिदान एउटा स्पष्ट खाका अनुसार आएको हो ।

संघीयताले केही दिएन नि जनतालाई ?

पूर्ण संघीयता नै सरकारले दिएन । हामीले जुन संघीयता कल्पना गरेका थियौँ । त्यो संघीयता नेपालको संविधान हो । यो प्रशासनिक इकाईजस्तो छ । मधेश आन्दोलनको बलमा लेखेको हो नत्र संघीयता त लेख्नै बिर्सेको थियो । पछि हतार हतारमा लेखेपछि थुप्रै विषयहरू लेख्नै छुटाएको थियो । जनता समाजवादी पार्टी एकीकृत भयो । एकीकृत भएको सूचना निर्वाचन आयोगले संघीय संसदलाई दियो, प्रदेश सभा संसदलाई दिन बिर्सियो । किनभने कानुन नै प्रस्ट छैन ।

संशोधनको निर्णय विरुद्ध तपाईहरू नै सर्वोच्चमा जानुभएको छ नि ?

त्यो त विधि हो । संघीयता स्थापित गर्नुछ । संघीयता स्थापित गर्नका लागि प्रदेश र संघको अनुसूचीमा नेपालको अनुसूचीमा लेखिएका अधिकार बाँडफाँड सम्बन्धी विवाद पछि सम्म चलिरहने हो । थुप्रै अधिकारमाथि संघले अझै पनि हस्तक्षेप गर्दैछ । त्यसका विरुद्ध न्यायिक निकाय भनेको अदालत हो । हामी अदालत जानुपर्दछ । वार्ता र संवादले अधिकारको छिनोफानो गर्नुपर्दछ । यिनीहरू त विधिहरू हुन् । विधि चलि नै रहन्छ ।



प्रतिक्रिया दिनुहोस्