Logo

भारतीय गैरभन्सार अवरोधबाट प्रताडित नेपाली निर्यात



‘काठमाडौं, भदौ ९ । भारतीय भन्सारले परीक्षणका कडा प्रावधानमार्फत नेपाली निर्यातकर्तालाई भन्सार बिन्दुमा हतोत्साहित गरिनु, अनौपचारिक भुक्तानीका लागि बाध्य पार्नु र भन्सार बिन्दुभन्दा सयौंं किमी टाढाका प्रयोगशालाबाट गुणस्तर प्रमाणित गर्नुपर्नेजस्ता बाध्यताका कारण नेपालको निकासी व्यापार प्रताडित हुँदै आएको व्यवसायीको आम गुनासो छ’ आईटीसीको प्रतिवेदनमा उल्लेख छ ।

वीरगञ्ज–रक्सौल सीमानामा पुर्‍याइएको वस्तुको गुणस्तर परीक्षण कोलकाताबाट ल्याउनुपर्ने बाध्यता छ । यस्ता परीक्षण गर्दा १५ देखि २१ दिनसम्म समय लाग्ने गरेको छ । गुणस्तर प्रमाणीकरणको प्रमाणपत्र पेश गर्दा पनि भारतमा त्यस्ता नेपाली वस्तु प्रवेश निश्चित नहुने समस्या पनि आम रूपमा रहेको छ । जब कि, भारतबाट आउने वस्तुको परीक्षण सीमावर्ती वीरगञ्जकै प्रयोगशालामा हुन्छ । केही महीनाअघि भारतबाट आउने तरकारीमा विषादी अवशेष परीक्षण अनिवार्य गरेपछि भारतीय पक्षको चर्को दबाबमा नेपाल पछि हट्न बाध्य भएको थियो ।

नेपाल टी प्लान्टर्स एशोसिएशनका सल्लाहकार उदय चापागाईं पश्चिम बंगालका चिया उद्योगीको प्रभावमा परेर पश्चिम बंगाल प्रहरी र त्यहाँको भन्सार विभागले नेपालको चिया निकासीमा अवरोध पुर्‍याउँदै आएको बताउँछन् ।

‘पश्चिम बंगालका चिया उद्योगीले नेपालका उद्योगलाई प्रमुख प्रतिस्पर्धीका रूपमा लिने गरेकाले विभिन्न बहानामा वर्षौंदेखि अवरोध पुर्‍याएका छन्,’ चापागाईंले भने, ‘त्यहाँका उद्योगीको प्रभावमा परेर भारतीय निकायले कहिले विषादी र कहिले गुणस्तरको बखेडा झिक्छन् ।’

अलैंचीको निकासीमा पनि भारतीय पक्षले कुनै न कुनै बहानामा अवरोध गर्दै आएको छ । भारतीय पक्षले गुणस्तरीय नभएको र मूल्यांकन कम भएको बहाना गरेपछि निकासीमा सकस झेल्दै आएको अलैंची उत्पादक संघका अध्यक्ष राजकुमार कार्कीले बताए ।

नेपाली उत्पादनको वास्तविक वस्तु वर्गीकरणमा पनि भारतीय भन्सारमा व्यापक हस्तक्षेप हुने गरेको निर्यातकर्ताको भोगाइ छ । ‘काँचो अदुवालाई सुठो घोषणा गर्न लगाएर अतिरिक्त कर लिने प्रवृत्ति छ । काँचो अदुवामा भारतमा वस्तु तथा सेवा कर लाग्दैन । सुठोमा ५ प्रतिशत यस्तो करको भार थप्ने गरेका छन्, ती व्यवसायीले बताए । जडीबुटीमा काउलोको बोक्रालाई काउलोको धूलो घोषणा गर्न लगाउने प्रवृत्ति पनि भारतीय भन्सार बिन्दुमा आम रूपमा रहेको निर्यातकर्ताको गुनासो छ ।

अन्तरसरकारी छलफलहरूमा नेपालले भारतीय पक्षका यस्ता अवरोधबारे समाधानमा भारत उदासीन बन्दै आएको अधिकारीहरू बताउँछन् । गैरभन्सार अवरोधका बारेमा नेपालले व्यापार वार्तामा प्रभावकारी ढंगबाट आफ्ना एजेन्डा राख्नुपर्ने जानकारहरूको मत रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्