Logo

कोरोनाका कारण बाह्य क्षेत्रमा सुधार



काठमाडौं, भदौ ९ । कोरोना महामारीले मुलुकको अर्थतन्त्र प्रभावित बने पनि देशको बाह्य क्षेत्रलाई भने बलियो बनाएको छ । आयातमा आएको कमी तथा विप्रेषण आयमा आकलन गरेजस्तो गिरावट नआउँदा गत आर्थिक वर्ष नेपालको शोधनान्तर बचत २ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक अवस्थाको प्रतिवेदनले नेपालको शोधनान्तर बचत उच्च हुन पुगेको बताएको हो ।

कोरोना महामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीले मुलुकको निर्यात प्रभावित बने पनि सोही कारण आयातमा कमी आयो । गत आवमा नेपालको आयात अघिल्लो आवको तुलनामा १५ दशमलव ६ प्रतिशतले घटेर ११ खर्ब ९६ अर्ब रुपैयाँ रह्यो । आव २०७५र७६ मा आयात १३ दशमलव ९ प्रतिशतले बढेको थियो ।

गत आवमा कच्चा पाम तेल, कच्चा सोयाबिन तेल, रासायनिक मल, खाने तेल, कम्प्युटर तथा पार्टपुर्जालगायत वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एमएस बिलेट, सुन, अन्य मेशिनरी तथा पार्टपुर्जालगायत वस्तुको आयात घटेको छ ।

तर, निर्यात भने शून्य दशमलव ६ प्रतिशतले सुध्रिएको छ । ९७ अर्ब ७१ करोडको मालवस्तु नेपालले गत आवमा विदेशमा विक्री गरेको छ । पछिल्लो समय पाम तेल, आयुर्वेदिक औषधि, जडीबुटी, प्लास्टिकका भाँडा, फलपूmललगायत वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, पोलिस्टर यार्न तथा धागो, तयारी पोशाक, उनी गलैंचालगायत वस्तुको निर्यात घटेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्