Logo

पत्रकारको निःशुल्क कोरोना परीक्षण गर्न महासङ्घको माग



काठमाडौँ, ९ भाद्र। नेपाली पत्रकारको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घले पत्रकारको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । पछिल्लो समय पत्रकारको सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि महासङ्घले सो माग गरेको हो ।

महासङ्घका महासचिव रमेश विष्टले सोमबार विज्ञप्ति जारी गर्दै करिब ३६ जना पत्रकार कोरोनाबाट हालसम्म सङ्क्रमित भइसकेको बताउनुभएको छ । समाचार सङ्कलनका क्रममा अग्र भागमा खटिने समाचारदाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरू बढी कोरोनाबाट सङ्क्रमित देखिएको महासङ्घले बताएको छ ।
कोरोना सङ्क्रमण बृद्धि हुँदासमेत पत्रकारले ज्यान जोखिममा राखेर अग्रभागमा खटेर आफ्नो जिम्मेवारी निर्वाह गरिरहेकाले पत्रकारको निःशुल्क कोरोना परीक्षणको व्यवस्था गर्नुपर्ने महासङ्घको माग छ ।

“विशेष गरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरू सङ्क्रमणको उच्च जोखिममा रहेका छन्” महासङ्घकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, कोरोना महामारीको यो बेलामा सङ्क्रमणबाट जोगिन स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न महासङ्घले पत्रकारसँग आग्रह गरेको छ ।

सञ्चार प्रतिष्ठानहरूले अति आवश्यकबाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन र कार्यालय तथा फिल्डमा खटिने सञ्चारकर्मीहरूका लागि स्वास्थ्य सामग्रीको प्रयोगसँगै पर्याप्त सजगता अपनाउने वातावरण निर्माण गर्न पनि महासङ्घले आग्रह गरेको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्