Logo

विद्यालयको होस्टल क्वारेन्टाइन बनाइने



काठमाडौं, ९ भाद्र । सरकारले उपत्यकाका विद्यालयको होस्टलमा क्वारेन्टाइन राख्ने भएको छ । त्यसका लागि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा जिल्ला प्रशासन कार्यालय र प्रहरीले उपत्यकाका ठूला विद्यालयको छात्रावास निरीक्षण शुरु गरेको छ ।

आइतबार तीनै जिल्लाका प्रजिअको बैठकले उपत्यकामा क्वारेन्टाइनको अभावका कारण कोरोना संक्रमणको अवस्था जटिल हुन सक्ने आकलन गर्दै विकल्पका रुपमा विद्यालयको होस्टललाई प्रयोगमा ल्याउन सक्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा सोही रातीदेखि उपत्यकाका ठूला विद्यालय र होस्टलको अवस्था, त्यसको क्षमताको बारेमा जाँचबुझ गरेको थियो ।

लगत्तै हिजो सोमबार तीनै जिल्लाका प्रहरी परिसर, वृत्त, प्रभाग र चौकीमा कार्यरत प्रहरीले विद्यालयको अवस्था बुझेका थिए । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले विकल्पका रुपमा विद्यालयको होस्टल प्रयोग गरिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘क्वारेन्टाइनका रुपमा छनोट भएका विद्यालयमा कोरोनो संक्रमितलाई राखिँदैन । एक हप्तासम्म राखेर पठाउनका लागि विद्यालयको होस्टललाई क्वारेन्टाइन बनाउन लागेका हौं ।’

सरकारको निर्देशनअनुसार स्थानीय प्रशासनले पहिलो चरणमा विद्यालयको होस्टल र आवश्यकताका आधारमा विद्यालय नै प्रयोग गर्ने तयारी गरिरहेको छ । प्रजिअको निर्देशनमा सोमबार दिनभर तीनवटै जिल्लाका स्थानीय प्रहरीले विभिन्न क्षेत्रका विद्यालयको निरीक्षण गरेका खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्