Logo

औषधि उद्योगको बेहाल



काठमाडौं, भदौ ९ । कोभिड १९ को संक्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनले औषधि उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेनन्। सरकारले अत्यावश्यक उद्योग बन्द नगर्ने भने पनि कामदार अभाव र कच्चापदार्थको मूल्यमा भएको वृद्घिले औषधि उद्योग पनि मारमा परे।

औषधि उद्योग खोल्ने प्रयास गर्दा पनि कर्मचारी आउन नमान्दा उद्योग पूर्ण क्षमतामा सञ्चाालन हुन नसकेको उद्योगी बताउँछन्। नेपाल औषधि उत्पादक संघका अनुसार देशभर ६२ वटा औषधि उद्योग भए पनि ती सबै २५ देखि ३० प्रतिशतको हाराहारीमा मात्रै सञ्चालनमा छन्।

कच्चा पदार्थ, कामदार र बजारको अभावका कारण निकै कम क्षमतामा उद्योग सञ्चालनमा रहेको औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपक दाहालले बताए। नेपालमा सञ्चालनमा रहेका औषधि उद्योगबाट वार्षिक रूपमा करिब २६ अर्बको कारोबार हुँदै आएको छ।

‘लकडाउनका क्रममा औषधिको बिक्री समेत घटेपछि उद्योगीलाई चल्न झनै मुस्किल भएको छ’, दाहालले भने, ‘मधुमेह, मुटु रोगजस्ता दीर्घबिरामीले नियमित सेवन गर्नुपर्ने औषधिबाहेक अन्यको बिक्री ह्वात्तै घट्यो।’ एन्टिबायोटिक औषधिको बिक्री ७० प्रतिशतसम्म घटेको दाहालले बताएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्