Logo

नेकपाभित्र संगठित सदस्यहरुको टुंगो छैन महाधिवेशनको हल्ला



काठमाडौं, ९ भाद्र । नेपाल कम्युनिस्ट पार्टीको महाधिवेशन यसै वर्षभित्र गर्ने गरी विवाद समाधानको कार्यदलले सुझाव दिइसकेको छ । महाधिवेशन यो वर्ष नगरे अर्को वर्षको शुरुमा हुने सम्भावना बलियो छ । तर, केन्द्रमा बाहेक नेकपाको तल्लो तहको व्यवस्थापन नै बाँकी छ । को को संगठित सदस्य भन्ने विवरण अद्यावधिक नै छैन ।

नेकपाभित्र झण्डै पाँच लाख सदस्य रहेको बताइएको छ । संगठित सदस्यको महत्व छ । एक सय संगठित सदस्य बराबर एकजना महाधिवेशन प्रतिनिधि चयन हुन्छन् । यसकारण नेकपामा अहिलेको संगठित सदस्य संख्याका आधारमा पाँच हजार प्रतिनिधि चयन हुने अवस्था हुन्छ । यीनै पाँच हजारले एकता महाधिवेशनमा अध्यक्ष लगायत केन्द्रीय कमिटीका सदस्य समेत चयन गर्नेछ । नेकपामा शतप्रतिशत चुनिएर आउनुपर्ने हुन्छ । एमाले छँदा मनोनयनको व्यवस्था हटाइएको थियो । एकताका क्रममा त्यो अवस्था पुनः ब्युँतियो ।

नेकपाभित्र एकता महाधिवेशनमा जाँदा संगठित सदस्यता वितरण र प्रतिनिधि चयन गम्भीर प्रश्न बन्न सक्छ । पूर्व एमालेको तुलनामा पूर्व माओवादी कार्यकर्ता संख्या कम छ । यसकारण पनि पूर्व एमालेको तुलनामा पूर्व माओवादीबाट आधा पनि प्रतिनिधि आउन नसक्ने निश्चित छ । यसकारण पनि पूर्व माओवादीले यो महाधिवेशनसम्म सहमतिबाट प्रतिनिधि चयनको विषय उठाइसकेका छन् ।

नेकपाभित्र एकताका दौरान केन्द्रीय कमिटी, स्थायी कमिटीमा पूर्व एमाले र पूर्व माओवादीबीच ६० र ४० प्रतिशत सदस्य संख्या भागवण्डा भयो । दुवै दलको कमिटी नै भंग गरिएको थियो । त्यतिबेला एमालेमा उपाध्यक्ष भइसकेकाहरु स्थायी कमिटीमा सिमित पारिए । सचिवालयमा ६ र ९ सदस्यको भागवण्डा भयो । विभागको संयोजक र सहसंयोजक तोक्दा पनि भागवण्डा भयो ।

३१ सदस्यीय केन्द्रीय विभागमा अहिलेसम्म सदस्यहरु तोकिएको छैन । हरेक विभागमा पूर्व एमालेबाट १८ र पूर्व माओवादीबाट १४ राख्नुपर्ने सहमति गरिएको थियो । ७७ जिल्लाका कमिटी तय भयो । जसमा थप तीन कमिटी पनि छन् । तर, आधा कमिटीको सचिवालय बन्न सकेको छैन । २१ जनसंगठनमा संयोजक र सहसंयोजक तोकिए तर कतिपयले सदस्य बनाउन सकेका छैनन् ।

सत्ताको स्वादमा नेताहरु सिंहदरबार वरपर र काठमाडौं उपत्यकामा रुमल्लिएको गुनासो कार्यकर्ताले गर्न थालेका छन् । नेकपा गाउँमा निस्कृय बन्दै गएको छ । संगठन निष्कृय हुँदा स्थानीय तहमा भ्याकुम बन्दै गएको छ । यसले नेकपालाई आगामी चुनावमा ठुलो धक्क पर्न सक्ने भन्दै कार्यकर्ताले नेतृत्वलाई घचघचाइरहेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्