उद्धव खरेल, बुढानिलकण्ठ नगरपालिकाका मेयर
विश्वव्यापी कोरोना महामारीले आज पूरै संसार नै प्रभावित भएको बेलामा नेपाल पनि त्यसबाट अछुतो छैन् । नेपालको संघीय राजधानी काठमाडौं अहिले कोरोनाको विशेष चपेटामा परेको छ । काठमाडौं महानगरमा रहेका नगरपालिकाहरुमध्ये बुढानिलकण्ठ नगरपालिका धेरै जनसंख्या भएको नगरपालिका हो । महानगरपालिकाभित्र रहेको दश वटा नगरपालिकामध्ये यहाँ सबैभन्दा बढि संक्रमितहरु रहेको कुरा पुष्टि भएको छ । बुढानिलकण्ठ नगरवासीहरु स्थानीय वासिन्दाहरु संक्रमण भएको भन्दापनि विभिन्न स्वास्थ्य कार्यालयहरुमा, स्वास्थ्य संस्थामा, अस्पतालहरुमा संक्रमण भएर धेरै मानिसहरु बुढानिलकण्ठमा बसोबास गर्छन् । त्यसपछि आएर फेमेली ट्रान्समिसन दर अलिकति बढि छ । अहिलेसम्म १ सय २५ भन्दा बढि पुष्टि भएको छ । त्यसमध्ये ३० जना निको पनि भैसकेका छन् । झण्डै झण्डै ७० जना होम आईसोलेशनमा छन् । २५ देखि ३० जना जति अस्पतालमा उपचार गराईरहेका छन् । र, केही केशहरु अलिकति गम्भीर रुपमा छन् । त्यसो भएको हुनाले अब हामी कन्ट्याक टेसिंगलाई अलिक बढि व्यवस्थित् गरेर बढिभन्दा बढि मानिसहरुलाई पिसिआर टेष्ट गराउनुपर्छ भनेर लागिरहेका छौं । आज पनि बुढानिकलण्ठ नगरपालिकामा चार सय जनाको परीक्षण भएको छ ।
आम मानिसलाई पनि पिसिआर परीक्षण गर्ने सम्भावना छैन् । लक्षण नभएकाहरुलाई पनि परीक्षण गर्न सकिँदैन् । जसलाई लक्षण देखिएको छ, जसलाई ज्वरो, रुघाखोकी लागेको छ र जो अग्रपँक्तिमा गएर काम गरेको छ, र जो संक्रमणको जोखिममा परेका छन् । उनीहरुलाई चाहीँ हामीले अत्यधिक परीक्षण गर्ने भनेर लागेका छौं । टेष्ट पनि गर्ने र यो लकडाउन पनि गर्दा संक्रमण कम होला भनेर अपेक्षा गरिएको छ । विभिन्न मानिसहरु अस्पतालमा काम गर्छन्, र उनीहरु संक्रमित भएका छन् । उनीहरु यही नगरपालिकामा बस्नछन् । त्यसले गर्दापनि यहाँ अलिक संख्या बढि भएको हो । समूदायमा कन्ट्रयाक टेसिङ गरेपछि पनि तुरन्तै आईसोलेशनमा बस्ने बानी पनि छैन् ।
लकडाउनलाई प्रभावकारी बनाउनको लागि हामी लागिपरेका छौं । सबै वडालाई त्यहीअनुसार भनिएको छ। माईकिंग गरिएको छ । प्रहरी प्रशासनसँग सहकार्य गरेर हिँडडुल र मानिसहरुको चहपहललाई अलिकति कम गर्ने काम गरिएको छ । नियमपूर्वक होम आईसोलेशनमा बस्नेहरुलाई धन्यवाद दिनेगरि हामीले प्याकेजपनि लिएर जान लागेका छौं । हामी अब ठूलो संख्यामा पिसिआर परीक्षण गर्दैछौं, त्यसबाट आउने नतिजाबाट नै संक्रमणको अवस्था अझै धेरै थाहा हुन्छ । आम नगरवासीहरुले नगरपालिकाले गरेको अनुरोध र निर्देशनलाई पालना गरिदिनुहुनेछ । र, सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ । यदि तपाईलाई शंका लागेको छ भने सम्बन्धित स्वास्थ्य कार्यालयमा सम्पर्क गरेर आफ्नो नाम लेखाईदिनुहोस हामी परीक्षण गराउनेछौं । आम नगरवासीहरुको सक्रिय पहलबाट नै यसको समाधान हुनसक्छ । नगरपालिकाले यो गरेन, उ गरेन भनेर भन्नुभन्दापनि यस्तो राम्रो काम गरिदिए हुन्थ्यो भनेर सुझाव र सल्लाह दिएर सहयोग गरिदिनुहोस ।
अहिले हामीले चार सय जनालाई परीक्षण गर्छौं । उनीहरु सबैलाई हामीले क्वारेन्टिनको व्यवस्था गर्न सक्दैनौं । शंका लागेर परीक्षण गरिएकाहरुले होशियारपूर्वक सामाजिक दूरी कायम गरेर बसिदिनुहोस । सबैलाई क्वारेन्टिनमा राख्ने सम्भावना छैन् । हरेक नागरिक अहिले सेल्फ क्वारेन्टिनमा छन् । सबैले निषेधाज्ञा पालना गरेर एकान्तवासमा बस्नुपर्छ । होम क्वारिन्टनमा बसेकाहरु र आईसोलेशनमा बसेकाहरुलाई निगरानी गर्न समिति बनाएका छौं । हामीले हरेक दिन निगरानी गरिराखेका छौं । वडाअध्यक्षको संयोजकत्वमा एक जना स्वास्थयकर्मी र एक जना सहयोगी राखेर समिति बनेको छ । त्यो समितिले हरेक आईसोलेशनमा बसेकाहरुलाई निगरानी गर्न एक जना सहयोगी कार्यकर्ता खटाउने र उसलाई हामीले १४ दिनको दुई हजार पनि दिने भनेका छौं ।
(मेयर खरेलसँग रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार अशोक धमलाले गरेको कुराकानीमा आधारित)