महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले निषेधाज्ञाको प्रभावकारी रुपमा कार्यान्वयन गराईरहेको र यो बेलामा सवारीसाधन गुड्न नदिईएको स्पष्ट पारेका छन् । निषेधाज्ञा आदेश उल्लंघन गर्नेहरुलाई कारबाही गरिएको पनि उनले जानकारी दिएका छन् । मंगलबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । विगतभन्दा काठमाडौं अहिले ठप्प रहेको उनको भनाई छ । प्रस्तुत छ ढकालसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश ः
सवारी साधन गुडिरहेका छन् नि निषेधाज्ञाको बेलामा पनि ? के भन्नुहुन्छ ?
निषेधाज्ञाको बेलामा कुनै पनि हालतमा गुड्न पाउँदैनन् ।
गुडिरहेका छन्, प्रत्येक दिन तपाईहरूले समात्नुभएको छ । कारबाही गर्न सक्नुभएको छैन नि ?
हामीले धेरै सवारी साधनहरूलाई होल्ड, कारबाही गरेका छौँ । जुन हिसाबले निषेध गरिएका निषेधाज्ञाहरू छन्, तिनीहरूलाई पूरै हामीले नियन्त्रण गरेका छौँ । विगत दिनहरूमा भन्दा एकदमै ठप्प छ, काठमाडौँ ।
६ दिनमा कति समात्नुभयो त, सवारी साधनहरू ? कसलाई कारबाही गर्नुभयो, तथ्यांक दिन सक्नुहुन्छ ?
अहिले हामीले ३ गतेदेखि निषेधाज्ञा जारी गरेका छौँ, आजसम्म आइपुग्दा २७ हजार दुई सय २७ सवारी साधनहरूलाई हामीले कारबाही गरेका छौँ ।
कस्तो किसिमको कारबाही गर्नुभयो ? समात्नु भयो कि डण्डा पनि छोड्नुभयो ?
हामीले १, २, ३ दिनसम्म होल्ड गरेका छौँ ।
होल्ड गर्नुभएको छैन अरे, माथिबाट दबाब आउँछ अनि छोडिदिनुहुन्छ भन्ने आरोप छ नि ?
त्यो काम भएको छैन । माथिको दबाबहरू हामीले त्यसलाई कुनै पनि हालतमा मान्दैनौँ। जो अत्यावश्यक सहजीकरण गर्नुपर्छ, उनीहरूलाई विनम्र भएर सहजीकरण गर्ने र जसलाई रोक्नुपर्ने हो त्यसलाई रोक्ने, स्पष्ट निर्देशन छ, त्योबमोजिम हाम्रा कामहरू हामीले अगाडि बढाएका छौँ ।
नागरिक त गाडी लिएर सडकमा आइसकेका छन् । गाडी त चलिरहेका छन् सडकमा ?
जिल्ला प्रशासन कार्यालयहरू काठमाडौँ, ललितपुर र भक्तपुर मिलेर अति आवश्यक भएका विषयहरू सुरक्षा, स्वास्थ्य, खाद्यान्न, पानीसँग जोडिएका दैनिक जीवनका कुराहरू छन्, तिनमा सहजीकरण गर्ने निर्देशन आएको छ । त्योभन्दा बाहेकका गाडीहरू जुन छन्, त्यसलाई रोकिएका छन् । नाकामा पनि रोकिएको छ । १५२ ठाउँमा हाम्रो चेकप्वाइन्ट छन् । एक ठाउँबाट अर्को ठाउँमा गएको भए पनि त्यसलाई समात्ने काम हुन्छ । हामीले छुट दिएका छैनौँ । २४ घण्टा हामी त्यसरी लागेका छौँ ।
फेरि पनि निषेधाज्ञा जारी गरिराख्नुपर्छ भन्ने तपाईको भनाई हो ?
निषेधाज्ञा भनेको पनि लकडाउनभन्दा अगाडिको कुरा हो । संक्रमण बढिरहेको अवस्थामा आवतजावतलाई एकदमै ठप्प बनाउनुपर्छ । विज्ञहरूको सल्लाह/सुझावअनुसार पनि कम्तीमा १५ दिनसम्म हामीले ठप्प बनाउन सकियो भने यो भाइरस पनि आफैंमा निस्क्रिय हुन्छ, अर्कोमा सर्न सक्दैन भन्ने खालको तपाईं/हामी सबैले सुनिरहेकै हौँ । सवारीसाधनको आवागमनलाई नियन्त्रण गर्न सकिन्छ । यो सबैले जाने बुझेको विषय हो । त्यसैले नेपाल सरकारले अहिले निषेधाज्ञा जारी गरेको हो ।
त्यसोभए निषेधाज्ञा अझै लम्बिन्छ ?
यो लम्बिने, नलम्बिने कुरा माथिको कुरा हो ।्
तपाईको सुझाव के छ ? सुरक्षाकर्मीहरूको सुझाव के छ ?
कतिपय सुरक्षाकर्मीहरूमा यो संक्रमण देखिएको छ । उहाँहरूको हस्पिटलमा उपचार पनि भईरहेको छ । पोजिटिभ देखिएकाहरूको अवस्था पनि एकदम सामान्य छ । तिनीहरू उपचार भएर फर्कने क्रम पनि जारी छ । अर्को कुरा भनेको हामी देखिरहेको अवस्थामा सुरक्षाकर्मीमा पनि एकदमै भयानक रूपमा हामीले लिएका छैनौँ । हाम्रो अधिकृत जवानहरूले उच्च मनोबलका साथ काम गरिराखेका छन् ।