काठमाडौं, ९ भाद्र । जबरजस्ती करणी गरेको अभियोगमा धुलिखेलका कुमार प्रसाद धिमाललाई प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक ताथलीस्थित लजमा ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रेपलाञ्चोक धुलिखेलका धिमाल पक्राउ परेका हुन् । असार २२ गते दिउँसो ती महिलालाई जबरजस्ती करणी गरी फरार भएका धिमाल सोमबार दिउँसो आँफै महानगरीय प्रहरी परिसर भक्तपुरको सम्पर्कमा आएपछि उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै सुनसरी बस्दै आएका भोक्राहा नरसिँह घर भएका मोहमद ईर्साद आलमलाई १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार प्रहरीले पक्राउ गरेको छ । मोहमदले गत साउन २६ गते दिउँसो मोरङ घर भएकी ती किशोरीलाई ललाई फकाई धरानको होटलमा लगेर जबरजस्ती करणी गरेका थिए । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय पकलीसँग समन्वय गरी उनलाई पक्राउ गरेको जनाएको छ ।
उनीमाथि जिल्ला अदालत सुनसरीबाट जबरजस्ती करणी मुद्धामा म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय धरान सुनसरीले जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।