काठमाडौँ, ९ भदौ: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले श्रमिकको समस्या सरकारले समाधान गर्नुपर्ने बताएका छन् । नेपाल यातायात मजदूर सङ्घले आज आयोजना गरेको ‘कोभिड–१९ ले नेपालको यातायात श्रमिकमा पारेको प्रभाव विषयक भर्चुअल अन्तक्र्रियामा उनले कोभिड–१९ का कारण समस्यामा परेका श्रमिकको समस्या सरकारले पुरा गर्नुपर्ने बताएका हुन् । नेता डा कोइरालाले कोरोनाको कारण अरु क्षेत्रभन्दा यातायात मजदूर क्षेत्रमा ठूलो समस्या परेको बताए ।
नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्यले कोरोनाको सबैभन्दा ठूलो असर दैनिक श्रम गरेर खाने मजदूर वर्गमा परेको भन्दै श्रमिकको समस्याका लागि नेपाल ट्रेड युनियन काँग्रेस निरन्तर लाग्ने बताए । अल इण्डिया रेल्वेमेन फेडेरेशनका महासचिव शिवगोपाल मिश्रले नेपालका यातायात श्रमिकको समस्या समाधानका लागि भारतीय श्रमिक क्षेत्रको साथ र सहयोग रहने बताउनुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले कोभिड–१९ का कारण ११ लाख यातायात मजदूरले रोजगारी गुमाउनुपरेको बताए ।
सङ्घका अध्यक्ष धर्मराज भण्डारी, नेपाल ट्रेड युनियन काँग्रेसका महासचिव योगेन्द्र कुँवर, नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश ७ का अध्यक्ष केशवराज पन्त सरकारले मजदूलाई वेवास्था गरेको बताएका थिए । भारतीय ट्रेड युनियनका नेता सङ्गम त्रिपाठी र भारतीय ट्रेड युनियन काँग्रेसका राष्ट्रिय सचिव महेन्द्र गारतले कोभिड–१९ ले विश्वको यातायात क्षेत्र नै ध्वस्त भएको भन्दै यसको पुर्नजीवनका लागि हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सङ्घका पूर्व अध्यक्ष एवम् नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष अजयकुमार राईले सरकारले यातायात श्रमिकलाई निःशुल्क बीमा, उपचार र स्वास्थ्य सामाग्रीको व्यवस्था गर्नुपर्ने बताए ।-रासस/File photo