Logo

निर्यातमा पाम आयलको ठाउँ लिँदै सोयाबिन तेल



काठमाडौं, भदौ १० । नेपालको निर्यात हुने वस्तुमध्ये शीर्षस्थान ओगटेको प्रशोधित पाम तेलको निर्यात भारतले वैशाखयता रोकेपछि अहिले यसको स्थान सोयाबिन तेलले लिन थालेको छ ।

भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो महीनामै नेपालबाट २ अर्ब २७ करोड रुपैयाँको सोयाबिन प्रशोधित तेल निर्यात भएको छ । नेपालबाट सोयाबिन तेल मुख्यतः भारत निर्यात हुने गरेको छ ।

आव २०७७/७८ को साउनमा भारततर्फ सोयाबिन तेलको निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५ गुणाले बढेको छ । गतवर्ष साउनमा ४५ करोड रुपैयाँबराबरको सोयाबिन तेल भारत निर्यात भएको थियो ।

गत आवमा नेपालबाट भारत निर्यात हुने वस्तुमा प्रशोधित पाम आयल अग्रस्थानमा थियो । आव २०७६/७७ मा नेपालबाट १८ अर्ब ३१ करोडको पाम आयल भारत निर्यात भयो । वैशाखको अन्तिम साता भारतको वैदेशिक व्यापार निर्देशनालयले पाम आयल आयातकर्ताको लाइसेन्स खारेज गरेपछि नेपालबाट यसको निर्यात अहिले ठप्प छ ।

वीरगञ्जस्थित ओसीबी फुड्सका सञ्चालक सुरेश रुंगटाका अनुसार पाम आयलको निर्यात बन्द भएपछि उनको उद्योगले अहिले सोयाबिन तेलको उत्पादन बढाएको छ । अहिले कुल उत्पादनको आधाभन्दा बढी सोयाबिन तेल हुने गरेको उनी बताउँछन् । ‘पाम आयलको निर्यात बन्द भएपछि हामीले यसको विकल्पका रूपमा सोयाबिन र सूर्यमुखी तेलको उत्पादन शुरू गरेका छौं,’ रुंगटाले भने ।

विराटनगरका व्यवसायी प्रदीप मुरारका पछिल्लो समय सोयाबिनको माग बढ्दै गएको बताउँछन् । ‘कोरोना संक्रमणका कारण पहिलेजति उद्योग सञ्चालनमा छैनन् तर सञ्चालित उद्योगमा पनि सोयाबिन तेलको उत्पादन बढेको छ,’ उनले भने । उनका अनुसार भारतमा सोयाबिन तेलको माग बढिरहेकाले पाम तेलको विकल्पका रूपमा व्यवसायीहरूले यसको उत्पादन बढाउन थालेका हुन् ।

नेपाली व्यवसायीले मूलतः कच्चा सोयाबिन तेल अर्जेन्टिना, ब्राजिल, पारागुवे, इन्डोनेशिया तथा युक्रेनबाट आयात गर्छन् । सबैभन्दा बढी कच्चा सोयाबिन तेल अर्जेन्टिनाबाट आयात हुने गरेको छ । चालू आवको साउनमा २ अर्ब ५६ करोड रुपैयाँबराबरको कच्चा सोयाबिन आयात भएको छ ।

साउनमा सोयाबिन तेलपछि सबैभन्दा बढी निर्यात हुने वस्तुहरूमा क्रमशः चिया, अलैंची र गलैंचा छन् । चालू आवको पहिलो महीना नेपालले कुल ९ अर्ब ६२ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८ दशमलव ८२ प्रतिशत वृद्धि हो ।

साउनमा आयात भने खस्किएको छ । गत साउनमा १ खर्ब ६७ अर्ब रुपैयाँको सामान आयात भएकोमा यसपालि आयात २० प्रतिशतले घटेर ८५ अर्ब रुपैयाँमा सीमित भएको छ । साउनमा औषधि, इन्धन, सवारीसाधन र औद्योगिक कच्चा पदार्थको आयात घटेको आजको आर्थिक अभिययान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्