Logo

थातथलो छाडेर बाँसखर्क आए लिदीवासी



सिन्धुपाल्चोक, भदौ १० ।

बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुदछ
लाखौंका लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ

जनवादी गायक जेबी टुहुरेको यो गीतको पंक्ति जस्तै आफू जन्मे–हुर्केको ठाउँ चटक्कै छाडेर हिँड्नुपर्दा कसको मन रुँदैन होला र ? टुहुरेको गीतमा जस्तै यतिबेला सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीका पहिरोपीडितहरू बाँच्नकै लागि आफ्नो थातथलो छाडेका छन् ।

जन्मभूमि छाड्ने रहर हुँदैन तर गाउँमा पहिरोले बस्न नदिएपछि उनीहरू आफ्नो गाउँभन्दा निकै टाढा ११ घण्टा हिँडेर जुगल गाउँपालिका–१ सेलाङमा रहेको बाँसखर्कस्थित सामुदायिक वन क्षेत्रमा आइपुगेका छन् त, कोही आउने क्रम छन् ।

२९ साउनको बिहान आएको भीषण पहिरोले लिदीवासीले ३९ छिमेकी गुमाए, कतिले परिवारका सबै सदस्य नै गुमाए । आफन्त र छिमेकी एकै प्रहरमा गुमाउनु पर्दाको पीडा लिदीवासीले भोगेका छन् । त्यसभन्दा बढी पीडा पहिरोमा बाँच्नेहरूलाई छ ।

जुगल गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समितिले लिदी पहिरोमा विस्थापित भएकाहरूलाई अस्थायी रूपमा सुरक्षित स्थानमा राख्न सेलाङको बाँसखर्क सामुदायिक वन नै उपयुक्त भएको निष्कर्ष निकालेपछि अहिले विस्थापितहरू यहाँ आउन थालेका छन् ।

लिदीबाट हिँडेको ११ घण्टामा अस्थायी बासस्थानमा आइपुगेका लिदीका कान्छा दोङको मन यतिबेला बेचैन छ, केही छिमेकीसहित बाँसखर्कमा आइपुगेका दोङ जन्मभूमि छाड्नुपर्दाको पीडा बताउन नै सक्दैनन् ।

‘हामी भूकम्पपछि पनि यहाँ आएर बसेका थियौं तर सरकारले यहाँ बस्न दिएन । अहिले फेरि आएका छौं । यहाँ पनि केही महिना त होला नि,’ दोङले पीडा मिश्रित स्वरमा भने ।

लिदीवासीहरू बाँसखर्कमा रहेको अस्थायी क्याम्पमा आउने क्रम सुरु भएको र सोमबारसम्म एक सयभन्दा बढी स्थानीय आइपुगेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

भूकम्पपछि पनि लिदीलगायत आसपासका करिब ५ सय स्थानीय यहाँ आएर बसे पनि सरकारले वनको जमिन भएको भन्दै यहाँ बस्न नदिएपछि आफूहरू गाउँमा नै फर्केको पीडितहरूले बताएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्