जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले कोरोना रोकथाम तथा नियन्त्रणको लागि निषेधाज्ञा सञ्जीवनी बुटी नभएको स्पष्ट पारेका छन् । र, उनले केही समयका लागि जनस्वास्थ्यको मापदण्ड अपनाउनुको विकल्प नभएको पनि जिकिर गरेका छन् । बुधबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले निषेधाज्ञा १४ दिन लगाईसकेपछि त्यसपछि आवश्यक नहुने पनि धारणा रोखका छन् । उनले भनेका छन्,‘किनभने यसले गर्दाखेरि सामाजिक धेरै असरहरू परेको छ । आर्थिक रूपमा समाज एक किसिमले अप्ठ्यारोमा परेको अवस्था छ ।’ प्रस्तुत छ डा. पाण्डेसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :
अब कोरोनाको रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा सञ्जीवनी बुटि बन्यो कि बनेन ?
निषेधाज्ञा सञ्जीवनी बुटि होइन । यो केही समयको लागि जनस्वास्थ्यको मापदण्ड अपनाउनुको विकल्प छैन ।
तपाईले भन्नुभएको थियो नि कफ्र्यु लगाउनुपर्छ भनेर ?
मैले त्यो बेलामा के भनेको थिएँ भने–काठमाडौँ लगायतका शहरहरू जोखिममा छन् । २ हप्ता हामीले कडा लकडाउन लगाउनुपर्छ भनेर मैले भनेको थिएँ तर त्यो समयमा नै नगर्दाखेरि संक्रमण धेरै बढ्यो । अहिले पछि आएपछि त्यही लाइनमा नै आउनुपरेको छ । अहिलेको १ हप्ता लगाईसकिएको छ । बाँकी १ हप्ता लगाउनुपर्ने हुन्छ । किनभने १४ दिनको एउटा साइकल हुन्छ । १४ दिनभित्रमा संक्रमित आफै निको हुन्छ । कि त उसले रोग सार्न सक्ने अवधि पूरा गरेको हुन्छ, कि ऊ हस्पिटल जान्छ । उसले समुदायमा सार्न सक्दैन । त्यसमा हामीले कडाइका साथ काम गर्नुपर्छ । विस्तारै लकडाउन खुकुलो बनाउनुपर्ने हुन्छ ।
त्यसोभए अब लकडाउन वा निषेधाज्ञा आवश्यक छैन ?
यो १४ दिन लगाईसकेपछि त्यसपछि आवश्यक छैन । किनभने यसले गर्दाखेरि सामाजिक धेरै असरहरू परेको छ । आर्थिक रूपमा समाज एक किसिमले अप्ठ्यारोमा परेको अवस्था छ ।
अरू देशमा लकडाउन हुँदाखेरि चुनाव हुन्छ । कोरोनाको संक्रमण त अमेरिकामा पनि छ । चुनावको माहोल सुरु भईसक्यो । भारतमा भईसक्यो, विहारमा । दक्षिण कोरियामा निर्वाचन भयो, श्रीलंकामा भयो । नेपालमा किन यस्तो हुन्छ ? किन बन्द कोठाभित्र राखिन्छ, जनतालाई ?
सरकारले अलिकति उत्तरदायी भएर वडा तहदेखि नै काम गर्ने हो भने निषेधाज्ञा पनि गर्नुपर्दैन तर प्रभावकारी रूपमा काम भएन भने महामारी लामो समयसम्म जाने कहिलेसम्म जान्छ भन्ने टुंगो नभएसम्म अब लकडाउन गरेर जनतालाई घरमा थुन्न उपयुक्त हुँदैन ।
त्यसोभए अब कुनै पनि लकडाउन, निषेधाज्ञाको आवश्यकता छैन ?
जुन ठाउँमा संक्रमण धेरै फैलिन्छ, त्यो ठाउँको लागि नागरिक आफै सचेत भएर बाहिर निस्कँदा मास्क लगाउने, दुरी कायम गर्ने, भीडभाडमा नजाने, यसरी हामी आफै पनि सुरक्षित हुनका लागि मापदण्डहरू अपनाऔँ । लकडाउन आवश्यक नै छैन ।
देशभरि निषेधाज्ञा छ त जताततै ?
अहिले त निषेधाज्ञामा प्रतिस्पर्धा पनि चलिरहेको छ । कतिपय ठाउँमा आवास नभएको ठाउँमा पनि लगाइएको छ । यसले गर्दाखेरि स्थानीय निकायलाई जिम्मा दिँदाखेरि झन् ठुलो समस्या देखा परेको छ । एउटा योजना बनायो भने यस्तो अन्धाधुन्ध लकडाउन हुँदैन ।
अहिले त प्रमुख जिल्ला अधिकारी, जनताका प्रतिनिधिहरूलाई सजिलो छ । संक्रमणको संख्या अलिकति देखिनेबित्तिकै उनीहरूले निषेधाज्ञा वा लकडाउन लगाईहाल्छन् नि ? यो कत्तिको उपयुक्त कदम हो ?
त्यो त विल्कुलै गलत हो । निषेधाज्ञाहरू लागू गर्नका लागि केही अवस्थाहरू हुन्छन् । संक्रमण अचानक फैलियो तर त्यसलाई व्यवस्थापन गर्ने हामीसँग तयारी छैन भने त्यो तयारी गर्नको लागि लकडाउन गर्ने हो । लकडाउनले संक्रमण नियन्त्रण गर्दैन । संक्रमणलाई केही हदसम्म रोक्छ । पहिला २ जना संक्रमित हुँदाखेरि लकडाउन भयो, १८००० संक्रमित हुँदाखेरि लकडाउन भएन ।
अब निषेधाज्ञा अब १ हप्ता जान सक्छ ?
१ हप्ता थप हुन्छ । किनभने १४ दिन लगाउँदाखेरि एउटा साइकल पूरा हुन्छ । अहिलेसम्म भएकाहरू कि निको हुन्छन्, कि हस्पिटल जान्छन् । १४ दिन पूरा गरिसकेपछि लकडाउन फेरि थप्न हुँदैन । यसले आर्थिक र मनोसामाजिक असर धेरै पारेको छ । लकडाउन गरेको अवधिमा सरकारले कि त राहत दिनुपर्छ । होइन भने राहत पनि नदिने, लकडाउनमाथि लकडाउन थप्ने यो गर्नु हुँदैन ।