Logo

होटल क्वारेन्टाइन राख्न शुरु, हानले हाललाई ६२ होटल छुट्यायो



काठमाडौँ, ११ भाद्र । उपत्यकाका क्वारेन्टाइन पर्याप्त नभएका बेला विदेशबाट फर्किनेलाई होटल क्वारेन्टाइनमा राख्न शुरु गरिएको छ । हिजो विदेशबाट आएका १५५ जना नेपाली होटल क्वारेन्टाइनमा बसिसकेका होटल सङ्घ नेपाल हान का महासचिव साजन शाक्यले बताउनुभयो । उहाँले विदेशबाट आएर होटल क्वारेन्टाइनमा बस्न आउनेको लागि सबै पूर्वाधार तयारी अवस्थामा रहेको बताउनुभयो ।

सरकारले जारी गरेका मापदण्ड पूरा गर्न कुनै समस्या नहुने बताउँदै उहाँले विदेशबाट आउने नेपालीलाई आफूहरूले राख्न पाउँदा खुशी महसुस गरेको उहाँ बताउनुहुन्छ ।सुरुको लकडाउनमा पनि विदेशबाट आएका एक हजार पाँच सय व्यक्तिलाई होटल क्वारेन्टाइनमा राखेको बताउँदै अहिले आउनेलाई राख्न पनि कुनै समस्या नहुने महासचिव शाक्य बताउनुहुन्छ ।

काठमाडौँमा होटल सङ्घ नेपाल ९हान०मा आबद्ध ३५० होटल सञ्चालनमा छन् । जसमा हाल ६२ होटल क्वारेन्टाइनको लागि छुट्ट्याइएको महासचिव शाक्य बताउनुहुन्छ ।
पछि बस्नेको माग आएमा क्वारेन्टाइनको लागि होटलको सङ्ख्या बढाउन सकिने उहाँ बताउनुहुन्छ । विदेशबाट आउने नेपालीको लागि फाईदाको लागि भन्दा पनि सामाजिक उत्तरदायित्व ठानेर सामान्य अवस्थामा भन्दा हाल ६० प्रतिशत कम शुल्कमा होटल उपलब्ध गराएको महासचिव शाक्यको भनाइ छ । विदेशबाट आएकाहरूलाई क्वारेन्टाइन होटलसम्म स्वास्थ्य मापदण्ड पूरा गरी आफ्नै गाडीमा राखेर ल्याउने गरेको उहाँ बताउनुहुन्छ ।

विदेशबाट आउने नेपाली बस्ने होटेल क्वारेन्टाइनमा होटल सञ्चालकले होटल छिर्ने परिसरको छुटटै गेटदेखि वाइफाइसम्मको मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले हिजो एक सूचना जारी गर्दै होटल व्यवसायीले क्वारेन्टाइनको लागि दिने होटलको विभिन्न मापदण्डमा सो कुरा उल्लेख गरेको छ ।

होटल सङ्घ नेपाल र होटल व्यवसायी महासङ्घले क्वारेन्टाइन स्थलको रुपमा प्रयोग गर्न होटलले तोको मापदण्ड पूरा गरेको हुनुपर्नेछ । त्यस्ता होटलमा मात्र क्वारेन्टाइनको लागि प्रयोगमा ल्याउन सक्नेछन् । क्वारेन्टाइनको लागि कम्तीमा २० कोठा भएको, स्वास्थ्यसम्बन्धी तोकिएको मापदण्ड पालना गर्ने गरी होटल परिसरको छुट्टै गेट वा कम्पाउण्ट भएको हुनपर्नेछ । सकेसम्म घुमफिर गर्नसक्ने खुला ठाउँ र बगैँचा भएको भएको हुनुपर्ने खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्