Logo

उपत्यकाकामा मेट्रो रेलः ८ वर्षसम्ममा पनि लगानी अनिश्चित



काठमाडौं, भदौ ११ । संघीय राजधानी काठमाडौंका विभिन्न पाँच स्थानमा मेट्रोरेल निर्माण गर्न पूर्वसम्भाव्यता अध्ययन सकिएको ८ वर्ष बित्दा पनि लगानीको टुंगो लाग्न सकेको छैन ।

काठमाडौं महानगरका जनप्रतिनिधिदेखि सरकारी घोषणामा समेत समेटिएको उपत्यकाका पाँच रूटमा बनाइने भनिएको मेट्रोरेल योजनामा लगानी जुटाउने विषय छलफलमा मात्रै सीमित भएको हो ।

सन् २०१२ मा अध्ययन भएको कुल ८७ दशमलव १८ किलोमीटर ९किमी० का पाँच रूटमध्ये चोभार–सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक–बूढानीलकण्ठसम्म २२ किमी, कीर्तिपुर–कालिमाटी–नयाँ बानेश्वर–एयरपोर्टसम्मको ११ दशमलव १५ किमी, कोटेश्वर–चाबहिल–स्वयम्भू–कोटेश्वरसम्म २८ दशमलव ५३ किमी रहेको छ ।

यस्तै, स्वयम्भू–डिल्लीबजार–बौद्धसम्म ११ दशमलव ७० किमी र धोबीघाट–सिंहदरबार–नक्साल–गोंगबुसम्म १३ दशमलव ८० किमी रहेको छ ।

हाल रेल विभागले चोभार– सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक–बूढानीलकण्ठमध्ये नारायणगोपाल चोकदेखि सातदोबाटोसम्मको विस्तृत सम्भाव्यता अध्यययन (डीपीआर) का लागि परामर्शदाता छनोट गरेको छ ।

परामर्शदाताले ८ महीनाभित्रै अध्ययन सम्पन्न गर्ने भने पनि कोरोना संक्रमणका कारण हाल काम रोकिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । अन्य रूटको मेट्रोरेल अध्ययनको विषयमा भने छलफलै हुन नसकेको उनी बताउँछन् ।

जनघनत्व बढी भएका काठमाडौं उपत्यकाका रूटहरूमा मेट्रोरेल सञ्चालनका लागि अध्ययन गरिए पनि हालसम्म लगानी सुनिश्चित हुन सकेको छैन । यसैगरी अहिलेसम्म कुनै रूटको डीपीआर पनि बनिसकेको छैन ।

पूर्वसचिव तुलसीप्रसाद सिटौला ती पाँच रूटमध्ये चोभार–सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक–बूढानीलकण्ठसम्म बन्ने मेट्रोरेललाई पहिलो प्राथमिकता दिएर निर्माण गर्न सुझाउँछन् ।

२०१२ मै अध्ययन गर्दा नारायणगोपाल चोकदेखि जावलाखेलसम्मको रूटमा मात्रै १ लाख जनसंख्या रहेको र अहिले उक्त जनसंख्या थप बढेकाले यहाँको चापअनुसार यो खण्डलाई पहिला निर्माण गर्नुपर्ने सिटौलाको तर्क छ ।

मेट्रोरेलका लागि ठूलो लगानी आवश्यक पर्ने भएकाले नेपालले त्यसको स्रोत सुनिश्चित गर्नु नै चुनौतीपूर्ण रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्