Logo

चीन र रूसद्वारा अनुमति माग, उत्पादनका लागि रूसले सघाउने



काठमाडौँ, १२ भाद्र । सरकारले विभिन्न देशमा कोभिड–१९ को विरुद्ध बनेका विभिन्न औषधि र खोपमाथि परीक्षण क्लिनिकल ट्रायल गर्न सम्भाव्यता छलफल शुरु गरेकोे छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले रुस, चीन, भारत र बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोभिड(१९ विरुद्ध उत्पादन गरेका औषधि र खोपको प्रयोगबारे अनुसन्धानलाई अगाडि बढाएको हो ।

आफ्नो र अन्य देशमा प्रयोग गरिरहेका औषधि र खोप नेपालमा तेस्रो चरणको क्लिनिकल ट्रायलको लागि आउन ती देशले खोजेका छन् । परिषद्ले ती औषधि र खोपका लागि अनुसन्धान गरेर मात्र नेपालमा तेस्रो चरणको लागि क्लिनिकल ट्रायल अनुमति दिने भएको छ । अहिलेसम्म कुनै खोपको प्रयोग नेपालमा गरिएको छैन ।

परिषद्का कार्यकारी निर्देशक डा। प्रदीप ज्ञवालीले विभिन्न देशमा कोभिड –१९ विरुद्ध बनेका औषधि र खोपको नेपालमा प्रयोग गर्नेबारे अनुसन्धान प्रक्रिया शुरु गरिएको जानकारी दिनुभयो । “नेपालमा तेस्रो चरणका लागि खोप र औषधिको परीक्षण गर्नका लागि विभिन्न देशले इच्छा व्यक्त गरेका छन,” उहाँले भन्नुभयो, “ हामीले अध्ययन अनुसन्धान गरेर मात्र प्रयोगका लागि अनुमति दिन्छौ ।”

परिषद्ले नेपालमा यसअघि विभिन्न अस्पताललाई प्लाज्मा थेरापी विधिबाट कोभिड–१९ का सङक्रमितको उपचार गर्ने पद्धति अपनाउन स्वीकृत प्रदान गरिसकेको छ । अहिले प्लाज्मा थेरापीविधिबाट गम्भिर अवस्थाका विरामीको उपचार विभिन्न कोभिड १९ अस्पतालले गरिरहेका छन् ।

 

परिषद्ले रुसमा बनेको कोरोना भाइरसको विरुद्धको खोप “स्तुनिक भी” नेपालमा पनि प्रयोग गर्नेबारे छलफल अगाडि बढाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा नेपालस्थित रुसी राजदूतावासलाई पत्र लेख्दै नेपालमा पनि प्रयोग गर्नेबारे परिषद्ले छलफल शुरु गरेको हो । रुस सरकारले बनाएको खोपको बारेमा परिषद्का कार्यकारी निर्देशक डा। ज्ञवालीले नेपालस्थित रुसका राजदूत अलेक्जी ए नोभिकोभसँग पनि छलफल गरिसक्नुभएको छ ।

“खोपबारे रुसी राजदूतसँग भएको छलफल सकारात्मक रुपमा अगाडि बढेको छ,” उहाँले भन्नुभयो, “हामीले उक्त खोप नेपालमा पनि प्रयोग गर्न सकिने वा नसकिनेबारे अध्ययन अनुसन्धान गर्दछौं । त्यसपछि मात्र प्रयोग गर्ने वा नगर्ने भन्ने थाहा हुन्छ ।”विश्व स्वास्थ्य संगठनले मान्यता दिइ नसकेको अवस्थामा यहाँ प्रयोग गर्दा हानी वा नोक्सान के गर्दछ भन्ने अध्ययन अनुसन्धान गरिने उहाँको भनाइ रहेको छ । अहिलेसम्म कुनै पनि औषधि र खोपलाई संगठनले मान्यता दिएको छैन । रुसी सरकारले एक हजार जनालाई निःशुल्क रुपमा प्रयोग गर्नका लागि खोप उपलब्ध गराउने समेत रुसका राजदूत नोभिकोभले प्रतिवद्धता जनाउनु भएको परिषद्का कार्यकारी निर्देशक डा। ज्ञवालीले जानकारी दिएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्