Logo

नेकपामा सचिवालय सर्वशक्तिमान बनाउन पहल



काठमाडौं, १२ भाद्र । नेपाल कम्युनिस्ट पार्टीभित्र सचिवालयलाई सर्वशक्तिमान बनाउने पहल शुरु भएको छ । पार्टीभित्रको विवाद र समस्याको कारणमध्ये अध्यक्ष सर्वेसर्वा हुनु पनि रहेको निष्कर्ष निकाल्दै केही सचिवालय सदस्यहरुले यस्तो पहल थालेका हुन् ।

भोलि बस्ने सचिवालय बैठकमा यसबारे प्रस्ताव जाने विश्वस्त स्रोतले जानकारी दिएको छ । विशेषगरी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबाहेकका नेताहरुले सचिवालयलाई सर्वशक्तिमान बनाउने प्रस्ताव लान लागेका हुन् ।

नेकपा विवादमा पनि अध्यक्ष सर्वेसर्वा हुन खोज्नु र सचिवालयको निर्णय बेवास्ता गर्नु रहेको निष्कर्ष एकाथरीको छ । त्यसैले पनि अध्यक्षलाई निश्चित दायरामा रहेर कामकाज गर्नुपर्ने अवस्था सृजना गर्न सचिवालयलाई अझ शक्तिशाली बनाउने प्रस्ताव जान लागेको हो ।

नेकपाभित्रको विवादमा समाधानका लागि पनि कार्यदल बनाउँदा सचिवालयलाई बेवास्ता गरिएको भन्दै उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य रामबहादुर थापा बादल असन्तुष्ट रहेको बुझिएको छ । गौतमले त कार्यदल किन चाहियो भनी प्रश्न उठाएका थिए । सचिवालयलाई बेवास्ता गरिएको र निर्णय समेत नमान्ने गतिविधि भएको भन्दै सदस्यहरु नै असन्तुष्ट देखिएका छन् । त्यसैले सचिवालयको निर्णय मान्नैपर्ने वाध्यात्मक व्यवस्था गर्ने पहल नेकपाभित्र भएको छ ।

नेकपाभित्र विवाद हुँदा पनि सचिवालयको निरिह जस्तै देखिएको थियो । अध्यक्ष ओली र प्रचण्डनै सर्वेसर्वा देखिएका थिए । सचिवालय बैठक औपचारिकतामा सिमित हुन थालेको थियो ।-File Photo: PM Secretariat

 



प्रतिक्रिया दिनुहोस्