Logo

नयाँ अर्थमन्त्रीमा दौडधुप, क कस्को सम्भावना ?



काठमाडौं, १२ भाद्र । राष्ट्रियसभा सांसदमा मनोनित नभए अर्थमन्त्री डा. युवराज खतिवडा १९ भाद्रबाट स्वतः पदमुक्त हुनेछन् । सांसद नभएपनि छ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था बमोजिम पदमा रहेका थिए । मनोनित सांसदमा उनको सम्भावना लगभग नभएपछि नयाँ अर्थमन्त्रीका लागि नेकपाभित्र दौडधुप चलेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो हप्ता मन्त्रिमण्डल पुर्नगठन गर्दैछन् । त्यसबेला अर्थमन्त्रीमा नयाँ व्यक्तिको चयन हुने बुझिएको छ ।
अर्थमन्त्रीका लागि सबैभन्दा अगाडि सुरेन्द्र पाण्डे छन् । उनी नेकपा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल दुवैका प्रीय मानिन्छन् । पाण्डे यसअघि पनि अर्थमन्त्री बनेका थिए । तर, ओलीले उनलाई महत्वपूर्ण मन्त्रालयमा पत्याइहाल्ने सम्भावना नरहन सक्छ ।

ओलीनिकटका महासचिव विष्णु पौडेल पनि मन्त्रीको दौडमा छन् । उनी मन्त्री नबन्ने चर्चा चलेपनि महत्वपूर्ण मन्त्रालय पाएमा बढ्ने तयारीमा छन् । उपप्रधानमन्त्रीसहित अर्थको जिम्मेवारी लिन बामदेव गौतमलाई पनि भनिएको छ । गौतम राष्ट्रियसभा सांसद मनोनित भएमा मात्र त्यो सम्भावना रहन सक्छ । त्यसमा पनि ओलीले उनलाई पत्याउनुपर्छ । गौतमले भने गृहमन्त्रीमा इच्छा देखाएका छन् ।

अर्थमा ओलीका प्रीय मानिने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको पनि सम्भावना छ । उनी मुख्यमन्त्री छाडेर सरकारमा जाने चर्चा चलिरहेको छ ।

ओलीले डा. खतिवडालाई नै कुनै तरिका अपनाएर निरन्तरता दिने चर्चा पनि चलेको छ । उनलाई राष्ट्रियसभामा ल्याउने सम्भावना अझै टरेको छैन । तर, नेकपा विवाद मिलाउन सांसद पद बामदेवलाई दिनुपर्ने वाध्यात्मक अवस्थाले सम्भावना क्षीण भएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्