Logo

कारागारबाट भागेका २० वर्षपछि पक्राउ



कैलाली, १२ भाद्र । कारागारबाट भागेका दुई सहित ४ जना फरारहरु २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ । डाँका चोरी मुद्दाका ४ जना फरार प्रतिवादीहरूलाई घटनाको २० वर्षपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये दुई जना २० वर्ष अघि घटना भएदेखि र दुई जना १५ वर्षअघि कारागारबाट भागी फरार रहेका थिए । पक्राउ पर्नेहरूमा जोशीपुर गाउँपालिकाका करन राज थापा, भगत चौधरी, गुन सिंह कठरीया र भजनी नगरपालिकाका टिकाराम चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई आ–आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

जिल्ला अदालत कैलालीले २० वर्षदेखि फरार रहेका दुई प्रतिवादीहरु गुन सिंहलाई ४ वटा डाँका चोरी मुद्दामा ३९ वर्ष कैद र १४ हजार ७० रुपैयाँ जरिवाना तथा टिकाराम चौधरीलाई ५ वटा डाँका चोरी मुद्दामा ३८ वर्ष कैद र ९ हजार ८ सय ४० रुपैयाँ जरिवाना सजाय ठहर गरेको थियो । यसैगरी करन राज थापालाई अदालतले विभिन्न मितिमा गरेको फैसलाले ८ वटा डाँका चोरी मुद्दामा ८७ वर्ष कैद र ४४ हजार १ सय ५३ रुपैयाँ जरिवाना र भगत चौधरीलाई १ वटा डाँका चोरी मुद्दामा ६ वर्ष कैद र ४ हजार ५ सय रुपैया जरिवाना तोकेको थियो ।

उनीहरु दुवै जना २०५७ फागुन ३० गते पक्राउ परी पुर्पक्षका लागि कारागार कार्यालय कैलाली गएकोमा २०६१ माघ २७ गते कारागार बाट भागी फरार भएका थिए । पक्राउ परेका चारैजनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कैलालीमा पेश गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्