Logo

अवरोध छिचोल्दै प्रसारण लाइन



भैरहवा, भदौ १३ । बुटवलबाट भैरहवा–लुम्बिनी कोरिडोरमा ल्याउन लागिएको विद्युत् प्रसारण लाइन चार महिनामा पूरा हुने भएको छ ।

बुटवल–गोरुसिङ्गे–लुम्बिनी १३२ केभी प्रसारण लाइन विस्तार आयोजनाले बीचमा कुनै अवरोध नभए चार महिनाभित्रै प्रसारण लाइन बन्ने जनाएको छ ।

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा–लुम्बिनी औद्योगिक कोरिडोर लगायतमा विद्युत् विस्तार र स्तरोन्नतिका लागि प्रसारण लाइन विस्तार थालिएको थियो ।

चार वर्षअघि प्रसारण लाइनको विस्तार थालिए पनि स्थानीयवासीको अवरोधका कारण ढिलाइ भएको हो । हालसम्म आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख हरिप्रसाद पाण्डेले बताए ।

योगीकुटीबाट सबस्टेसन रहेको मैनहियासम्म विद्युत् पु¥याउन ५६ वटा विद्युत् पोल गाड्नुपर्छ । अहिलेसम्म ३४ वटा पोलका लागि फाउन्डेसन बनेको छ । अब बाँकी २२ वटाको फाउन्डेसन पनि छिट्टै बन्ने पाण्डेको भनाइ छ ।

सबस्टेसनको बाँकी काम र ट्रान्समिसनको काम बाँकी रहेको उनले बताए । “टावरबाहेक अरू सबै सामान आइसकेको छ, ३४ वटा फाउन्डेसन तयार भएका छन्, बाँकी २२ वटा फाउन्डेसन पनि छिटै बन्दै छन्,” उनले बताए ।

एक अर्ब २० करोड लागतको यो आयोजना तीन वर्षभित्र सक्ने लक्ष्य भए पनि चार वर्षसम्म पूरा हुन नसकेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्