काठमाडौँ, १३ भदौ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्लाहीका अध्यक्ष रेवती पन्तले वीर अस्पतालमा उपचार गराइरहेकी सपना मोक्तानको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने बताएका छन् ।
अध्यक्ष पन्तले आज (शनिबार) काठमाडौंस्थित वीर अस्पतालमा उपचाररत मोक्तानलाई भेटेर उनको सम्पूर्ण खर्च नेकपा सर्लाहीले व्यहोर्ने बताएका हुन् । उनले अस्पतालका चिकित्सकलाई समेत सम्पूर्ण खर्च आफूले लिने र मोक्तानको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गरे ।
पन्तले सपनाको उपचार खर्च सँगैसपनाको श्रीमानको दैनिक खाना खर्च समेत दिएको बताएका छन् । अध्यक्ष पन्तले मोक्तानलाई चाहिने औषधि वीर अस्पताल अगाडि रहेको एउटा मेडिकलमा व्यवस्था गरिदिएका छन् । औषधि लिन सहज होस् भनेर पन्तले सो मेडिकलको कार्ड समेत दिएका छन् । सो कार्ड देखाएपछि मेडिकलले मोक्तानको उपचारमा चाहिने औषधि उपलब्ध गराउनेछ ।
सर्लाहीको हरिवन नगरपालिका– १० माइती घर रहेकी मोक्तान बिरामी भइ वीर अस्पतालमा उपचारत छिन् । उनको अवस्था गम्भीर रहेको छ । अध्यक्ष पन्तले वीर अस्पतालमा पुगेरै मोक्तान र उनका श्रीमानसँग भेटेर खर्चको चिन्ता नलिन अनुरोध गरेका हुन् ।