Logo

मानवोचित जीवनबाट कोही वन्चित हुनुहुँदैन



काठमाडौँ, १४ भाद्र। प्रधानमन्त्री केपी शर्मा ओलीले मानवोचित जीवन र समाजका निम्ति सरकार सधैँ अग्रसर रहेको बताउनुभएको छ । यसका लागि आवश्यक सहयोगका लागि सरकार क्रियाशील रहने समेत उहाँले स्पष्ट पार्नुभयो । मानव सेवा आश्रमको आठौँ वार्षिकोत्सवको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकारको कर्तव्य नै हो सामाजिक सुरक्षा, कोही अशक्त र बेसहारा नहोस्, कुनै पनि कारणले कोही पनि मानिस मानवोचित जीवनबाट वन्चित हुनुहुँदैन ।”

सरकारले आश्रमको अक्षयकोषका लागि थप एक करोड रुपियाँ सरकारका तर्फबाट थपिदिने घोषणा प्रधानमन्त्री ओलीले गर्नुभयो । विभिन्न सङ्घ संस्थाले र व्यक्तिले पनि कोषमा सहयोग पु¥याउन हात बढाउन उहाँले आग्रह गर्नुभयो । बन्धुत्वविहीन र सहारा नपाएर बाँच्नुपर्ने नेपालका लागि शुभ नभएकाले यसका निम्ति सरकार र समाज मिलेर यी प्रयासलाई अगाडि लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।

सरकारले सानो सहयोग मात्र गरेको तर समर्पित भएर लागेका अभियन्ताको भूमिका ठूलो रहेको प्रधानन्त्रीको भनाइ छ । संस्थालाई सहयोग पु¥याउने व्यक्ति र सङ्घ संस्थाको सहयोग ठूलो रहेकाले निरन्तरता दिन उहाँले अपिल गर्नुभयो । हाल कोरोना भाइरस महामारीको गम्भीर अवस्थाका कारण आर्थिक हिसाबले सरकार आफैँ त्यति सबल नरहे पनि सरकार र आश्रमको भावना मिलेकाले २०७८ सम्ममा देशलाई सडक मानवमुक्त देश बनाउने लक्ष्यमा अग्रसर रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो ।

नेपाल कोभिड–१९ सँग जुधिरहेको अवस्थामा हरेक देशवासीले प्रभावकारी रूपमा भूमिका खेल्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो । “हामी हरेक सिपाही हो, हामी हरेकले लडाइँ गर्नुपर्छ । यस लडाइँका लागि सबैले सरकारी आदेश पालना गर्नुपर्छ,” उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले कोरोनामाथि मानवजातिले विजय प्राप्त गर्ने भन्दै उहाँले विश्वमा भइरहेका प्रयासको चर्चा गर्नुभयो ।

नेपालमा यसका निम्ति मास्क लगाउने, साबुनपानीले हात धुने, हाम्रा खानपिन, व्यायाम, आराममा ध्यान दिने कार्य गर्न जरुरी रहेको बताउनुहुँदै उहाँले ताजा र औषधीय गुण भएका खानेकुराको प्रयोग गर्दै हाम्रा भान्छामा प्रयोग गरिएका मसला बेसार, टिम्बुर, लसुनलगायतका सामग्री प्रयोग गर्न सुझाव दिएको खबर आजको गोरखापत्रले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्