Logo

बारा–पर्सा औद्योगिक कोरिडोरमा फितलो सतर्कता



वीरगञ्ज, भदौ १४ । बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगलाई कामदार कर्मचारीका लागि क्वारेन्टाइनको व्यवस्था गरेरमात्रै उद्योग चलाउन प्रशासनले निर्देशन दिएको छ ।

जिल्ला सुरक्षा समिति र जिल्ला विपद् व्यवस्थान केन्द्रले क्वारेन्टाइनको अनिवार्य व्यवस्था मिलाएर उद्योग सञ्चालन गर्नुपर्ने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

सरकारी मापदण्डअनुसार कोरोना संक्रमण फैलिन नदिन उद्योग सञ्चालकले कामदारका लागि क्वारेन्टाइनको व्यवस्थापन गरेर उद्योग चलाउनुपर्छ । तर, कोरिडोरका उद्योगमा मापदण्डको पालना कमजोर पाइएपछि त्यसमा कडाइ गरिएको जानकारी प्रमुख जिल्ला अधिकारी तामाङले दिए ।

मापदण्ड पालना भए नभएको अनुगमन गरिने तामाङले बताए । ‘कोरोनाविरुद्ध सुरक्षा सतर्कताको पूर्ण कार्यान्वयनका लागि छिमेकी जिल्ला बाराको प्रशासनसित पनि समन्वय भइरहेको छ । यसलाई कडाइका साथ पालना गराउँछौं,’ उनले आर्थिक अभियानलाई भने ।

उद्योगका कामदार संक्रमणको प्रमुख स्रोत भएकाले औद्योगिक प्रतिष्ठानले उद्योग परिसरमा क्वारेन्टाइनको व्यवस्था मिलाउनुपर्ने प्रशासनको भनाइ छ । उद्योगमा क्वारेन्टाइन बनाउन सम्भव नभए उद्योगबाहिर कुनै निश्चित स्थानमा राखेर पनि कामदारलाई समुदायको सम्पर्कबाट टाढा राख्नुपर्ने प्रशासनले बताएको छ ।

बारा–पर्सा कोरिडोरका उद्योगमा सतर्कताको मापदण्ड न्यून पालनाले समुदायमा संक्रमण जोखिम बढेको छ । अधिकांश उद्योगले कामदार कर्मचारीका लागि क्वारेन्टाइनको व्यवस्था नमिलाएको भन्दै स्थानीयले प्रतिवाद गरेका छन् ।

कोरिडोरको औषधि उद्योग नेपाल फर्मास्युटिकल्स लेबोरेटिजका १७ जना कामदारमा कोरोना संक्रमण पुष्टि भए पनि उद्योगले लापरबाही गरेको प्रशासनले बताएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्