Logo

न्यून मूल्यमा समेत बिक्न छाडे चल्ला



काठमाडौं, भदौ १४ । सरकारले कोरोना संक्रमणका कारण गरेको बन्दाबन्दी र पछिल्लो समयको निषेधाज्ञाले पोल्ट्री व्यवसायले करोडौं घाटा बेहोर्नु परेको छ ।

कुखुरापालक किसानहरूले नयाँ चल्ला नकिन्दा ५६ रुपैयाँ ४५ पैसा उत्पादन लागत परेका बोइलर कुखुराका चल्ला २० रुपैयाँमा पनि विक्री हुन छाडेका हुन् ।

महामारी नियन्त्रणका लागि सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरेपछि कुखुरापालक किसानहरूका खोरमै तयारी अवस्थामा रहेका कुखुरा विक्री नहुँदा र नयाँ उत्पादित चल्लाको माग घट्दा यस्तो अवस्था सृजना हो ।

निषेधाज्ञा लागू भएपछि काठमाडौंलगायत देशका अन्य ठूला शहरमा समेत पसल खोल्ने समय निश्चित भएकाले मासुको विक्रीसँगै मूल्य पनि घटेको छ । मासुको विक्री नै कम भएसँगै नयाँ उत्पादित चल्लाको माग घट्दा उत्पादन लागतभन्दा न्यून मूल्यमा समेत चल्ला बिक्न छाडेको पोल्ट्री व्यवसायीहरूको गुनासो छ ।

नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेल अहिले किसानले उत्पादन गरेका तयारी कुखुरा विक्री नभएर नयाँ चल्लाको माग घटेकाले लागतभन्दा कम मूल्यमा बेच्न खोज्दा पनि चल्ला विक्री नभएको बताउँछन् ।

चल्लाको माग घटेर लागतभन्दा कम मूल्यमा समेत विक्री नहुँदा हाल संघले सातामा ३० लाख चल्ला नष्ट गर्दै आएको उनले जानकारी दिए ।

यसअघि सामान्य अवस्थामा देशभर ३ सय २४ ओटा ≈याचरीले सातामा ४२ लाख चल्ला उत्पादन गर्दै आएको संघको तथ्यांक छ । तर, लामो समयको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण हाल करीब ५० भन्दा बढी ≈याचरी बन्द रहेकाले चल्ला उत्पादनसमेत घटेको छ ।

त्यसैगरी कुखुराको उत्पादन बढेका बेला निषेधाज्ञा गरिएसँगै निश्चित समय मात्र मासु पसल खोल्न सकिने प्रावधानका कारण मासु विक्री हुन नसकेर मूल्यमा समेत गिरावट आएको छ ।

बन्दाबन्दीको समय कुखुराको विक्री घटेका कारण किसानले कुुखुरापालन नगरेपछि असार २० गतेसम्म बजारमा प्रतिकिलो ३ सय ९० रुपैयाँ पुगेको मासुको मूल्य त्यसयता पटकपटक ओरालो लाग्दै २ सय ४० रुपैयाँमा झरेको मासु व्यवसायी संघले जनाएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्