Logo

कुलमान घिसिङले पुनः नियुक्ति पाउलान् ?



काठमाडौं, १४ भाद्र । नेपाल विद्युत प्राधिकरणका लोकप्रीय कार्यकारी निर्देशक कुलमान घिसिङको यसै महिनाभित्र कार्यकाल पूरा हुँदैछ । उनले अर्को कार्यकाल पनि निरन्तरता पाउने इच्छा देखाएका छन् ।

कुलमानको कार्यकाल नसकिदै नियुक्तिको विषयमा चासो बढेको छ । विशेषगरी सामाजिक सञ्जालमा उनको पक्षमा बढी मानिसहरु देखिएका छन् । कुलमानले लोडसेडिङ अन्त गरेको भन्दै पुनः नियुक्ति दिनुपर्ने धेरैको माग छ । तर, त्यही सामाजिक सञ्जालमा उनको पक्षमा बनेको माहोल समस्या बनेर आउको छ ।

सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले गत हप्ता मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा कुलमानप्रति व्यङ्ग्य गरे । सामाजिक सञ्जालमा चर्चाको विषय बनेको कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति दिइएको हो भन्ने प्रश्नमा सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला भनी उत्तर दिए । सरकारलाई यसबारे कुनै जानकारी नभएको र सामाजिक सञ्जाललाई नै थाहा होला भनिदिए । यसलाई खतिवडाको कुलमानप्रतिको असन्तुष्टिका रुपमा हेरिएको छ ।

प्रधानमन्त्री ओलीका अति विश्वासपात्र अर्थमन्त्री डा. खतिवडाको अभिव्यक्तिलाई सरकार उनलाई पुनः नियुक्ति दिने पक्षमा नभएको रुपमा लिइएको छ । विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री ओली उनीप्रति सन्तुष्ट छैनन् । विकल्पमा अर्को पात्रको खोजीमा छन् ।

तर, ऊर्जामन्त्री वर्षमान पुन कुलमानको पुनः नियुक्तिको पक्षमा छन् । उनले सार्वजनिक रुपमा पनि कुलमान पुनः नियुक्ति हुने बताइसकेका छन् । उनका स्वकीय सचिवले सन्तोष पुनले पनि कुलमानको पक्षमा सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । यो घटनालाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुलमानको पुनः नियुक्तिको पक्षमा छन् भन्ने सन्देशका रुपमा लिइएको छ ।

प्रधानमन्त्री ओली कुलमानको पुनः नियुक्तिको विपक्षमा र प्रचण्ड पक्षमा देखिदा कुरा कसरी मिल्ने हो हेर्न बाँकी छ । कुलमानले प्रधानमन्त्री ओली आफूसँग चिढिएको ठानेर सामाजिक सञ्जालमार्फत् लोडसेडिङ अन्त हुनुमा आफ्नो मात्र भुमिका नभएको लेखेका छन् । उनले प्रधानमन्त्री ओली र ऊर्जामन्त्री पुन दुवैको भुमिका महत्वपूर्ण रहेको लेखेका छन् । यसलाई ओली रिझाउने शैलीका रुपमा बुझिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्