Logo

बाढी पहिरोमा परेर पाकिस्तानमा मर्नेको सङ्ख्या १३४ पुग्यो



१४ भदौ: पाकिस्तानमा आएको विनाशकारी बाढी र पहिरोमा परी मृत्यु भएकाहरुको सङ्ख्या १३४ पुगेको छ ।

देशको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले आफ्नो वेबसाइटमा राखेको विवरणमा मृतकहरुको सो सङ्ख्या जुन १५ देखि अगस्ट २९ सम्मको रहेको उल्लेख गरिएको छ ।अधिकारीहरुका अनुसार पछिल्लो समयमा आएको बाढी पहिरोमा परेकाहरुलाई खोजी तथा उद्धार कार्य पनि जारी नै राखिएको छ ।

उद्धार तथा खोजी र उनीहरुलाई राहत प्रदान गर्नका लागि सरकारी तथा गैह्रसरकारी संघ संस्था र निकायहरु लागिरहेका छन् ।उत्तरपश्चिमी खैबर पख्तुखवा प्रान्तमा आएको बाढी पहिरोमा परेर कम्तीमा ४८ जनाको मृत्यु भएको छ भने अरु ४२ जना घाइते भएका छन् ।

सिन्ध प्रान्तका मुख्यमन्त्री सैयद मुराद अली शाहले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रदेशभरिमा बर्षासम्बन्धी घटनाका कारण ८० जनाको मृत्यु भएको छ । तीमध्ये सवैभन्दा धेरै सिन्ध प्रान्तको प्रान्तीय राजधानी कराँचीमा ४७ जनाको मृत्यु भएको छ ।

यस क्षेत्रमा पछिल्लो बिहीबार र शुक्रबार अविरल वर्षा भएको र त्यसपछि बाढी पहिरोका घटनाहरु पनि धेरै भएको जनाइएको छ ।

पाकिस्तानको एक पत्रिका ‘डन’ले दिएको जानकारीअनुसार पाकिस्तानमा विगत ९० वर्षमा यो वर्ष सबैभन्दा बढी वर्षा भएको उल्लेख छ ।

कराँचीको मौसम विभागले दिएको जानकारीमा उक्त नगरमा पहिलो पटक १२ घन्टामा नै निकै भारी मात्रामा पानी परेको थियो । भारी वर्षा र बाढीले कराँची शहरलाई ठूलो क्षति पु¥याएको छ । यहाँ हजारौँको संख्यामा सैनिकलाई उद्धारको लागि परिचालन गरिएको छ ।

बाढीमा फसेका सयौँ व्यक्तिलाई उद्धार गरिएको छ भने यहाँका हजारौँ व्यक्ति बाढीबाट विस्थापित भएका छन । अकस्मातको भारी वर्षाका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । त्यसैगरी यहाँका धेरै क्षेत्रमा भौतिक संरचनाहरुमा पनि क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्