Logo

केन्द्रीय कारागारका ५० कैदीबन्दी र ५० सुरक्षाकर्मीमा सङ्क्रमण



काठमाडौँ, १५ भाद्र । जगनाथदेवल सुन्धारास्थित केन्द्रीय कारागारका ५० जना कैदीबन्दी र ५० जना सुरक्षाकर्मीसहित एक सयजनामा कोरोना सङ्क्रमण देखिएको छ । मुलुकको पुरानो र सबैभन्दा बढी कैदीबन्दी रहेको सो कारागारमा उच्च स्वास्थ्य तथा सुरक्षा सतर्कता अपनाउँदा–अपनाउँदै पनि कोरोना सङ्क्रमण देखिएको कारागार व्यवस्थापनले जनाएको छ ।

केन्द्रीय कारागार जगनाथदेवल प्रमुख लक्ष्मीप्रसाद बास्कोटाले ५० जना कैदीबन्दी र ५० जना सुरक्षाकर्मी गरी एक सय जनामा कोरोना सङ्क्रमण देखिएको बताउनुभयो । तर, अधिकांश सङ्क्रमितमा लक्षण देखिएको छैन । ‘दुई जनालाई सात दिनमै निको भइसक्यो’ उहाँले भन्नुभयो, लक्षण देखिएकालाई अस्पताल तथा आइसोलेसन केन्द्रमा लैजाने र सामान्यलाई कारागारमै राखेर योगा तथा घरेलु उपचार विधि अपनाई उच्च मनोबलका साथ प्रतिरोधात्मक क्षमता विस्तार गर्ने कार्य भइरहेको छ ।

केन्द्रीय कारागारमा तीन हजार २६३ जना कैदीबन्दी रहेका छन् । तीमध्ये केही दीर्घरोगी तथा केहीलाई औषधि उपचारका लागि नियमित अस्पताल लैजानुपर्ने भएकाले कोरोना सङ्क्रमण फैलिएको हुनसक्ने जनाइएको छ । कारागार प्रमुख बास्कोटाले बिरामी कैदीबन्दीलाई अस्पताल लैजाने र ल्याउने क्रममा कोरोना सङ्क्रमण देखापरेको बताउनुभयो । ‘सङ्क्रमण भित्रिन नदिन जेलभित्र उच्च सतर्कता अपनाएका छौँ, तर पनि उपचारका लागि अस्पताल जानैपर्ने भएकाले सङ्क्रमण भित्रिएको हो’ उहाँले थप्नुभयो ।

कारागार व्यवस्थापनले वाह्य व्यक्तिसँगको भेटघाट, कागजपत्र तथा नगद उपलब्ध गराउने जस्ता सम्पूर्ण कार्य स्थगित गरेको छ । औषधि उपचारका लागि अस्पताल लैजाने तथा ल्याउने बाहेकका अन्य सेवा पनि पूर्णरुपमा बन्द गरिएको छ । ललितपुरको नख्खुस्थित कारागारले पनि कैदीबन्दी र तीनका आफन्तलगायत वाह्य व्यक्तिसँगको भेटघाट पूर्णरुपमा निषेध गरेको छ । स्वास्थ्य उपचारमा जाने कैदीबन्दी र सुरक्षाकर्मीलाई केही दिन क्वारेण्टाइन र त्यसपछि पीसीआर परीक्षण अनिवार्य गरेको खबर आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्