नेकपा (माले) का महासचिव सिपी मैनालीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा घट्नालाई लिएर सफल वा असफल भन्न नमिल्ने बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपाका नेताहरु मिल्नु त राम्रै भएको प्रतिक्रिया दिएका छन् । उनले कुराकानीको क्रममा भनेका छन्,’अहिले देशमा कोरोना महामारीको प्यान्डेमिक, बाढीपहिरोको समस्याले देश आक्रान्त छ । यस्तो स्थितिमा सत्ताधारी पार्टीभित्र झगडा हुनु सा¥है खराब हो । सरकार महत्वपूर्ण विषयप्रति केन्द्रित हुन सकेन । सरकारले गर्दा जनता पीडित बनेका छन् । हामी आशा गर्छौँ, शुभकामना पनि दिन्छौँ कि चाँडोभन्दा चाँडो पार्टीभित्रको विवाद मिलोस् ।’ प्रस्तुत छ महासचिव मैनालीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :
तपाईको स्वास्थ्य स्थिति के छ ?
स्वास्थ्य स्थिति इम्प्रुभ भईरहेको छ ।
घरम बसेर उपचार भईरहेको छ ?
थेरापी, विश्राम भईरहेको छ ।
देशको राजनीतिक स्थितिलाई कसरी हेर्नुभएको छ, नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद साम्य भयो, विवाद मिल्यो ?
मिल्नु त राम्रै हो । त्यसलाई कार्यान्वयनमा लग्ने कुरा छ । अहिले देशमा कोरोना महामारीको प्यान्डेमिक, बाढीपहिरोको समस्याले देश आक्रान्त छ । यस्तो स्थितिमा सत्ताधारी पार्टीभित्र झगडा हुनु सा¥है खराब हो । सरकार महत्वपूर्ण विषयप्रति केन्द्रित हुन सकेन । सरकारले गर्दा जनता पीडित बनेका छन् । हामी आशा गर्छौँ, शुभकामना पनि दिन्छौँ कि चाँडोभन्दा चाँडो पार्टीभित्रको विवाद मिलोस् ।
बाहिर आईसक्यो, कार्यदलको रिर्पोट सार्वजनिक भईसक्यो । प्रधानमन्त्री के.पी. शर्मा ओलीले भनिसक्नुभयो, कुरा मिल्यो भनेर ।
जे जति जानकारी पाएका छौँ, यसले पछिल्लो चोटिको जुन प्रयत्न अगाडि बढेको देखिन्छ । प्रतिवेदनहरू पनि आए । त्यसमा मतभेदहरू पनि भए पनि पार्टी ती ठुला ठुला समस्याप्रति सरकारको ध्यान केन्द्रित होस् । सरकारका गतिविधिहरूमा जुन प्रश्न आलोचना, विरोध गरिरहेका छन, तिनीहरूलाई समेत अंगिकार गर्दै कार्यशैली सुधारेर काम अगाडि बढाओस् ।
प्रधानमन्त्री के.पी. शर्मा ओली सफल प्रधानमन्त्रीको रूपमा आउनुभयो ?
एउटा घटनालाई हेरेर सफल, असफल भन्न मिल्दैन ।
अहिलेको अवस्थामा पार्टीलाई एकताबद्ध बनाउन सरकार सफल भयो ?
बैशाखदेखिको झगडाबाट गुज्रिएर पार्टीभित्रका आलोचनाका पक्षलाई लिएर संघसंस्थाका पक्षमा बातचित भएर समाधानतिर जाँदैछौँ ।
होईन, मैले त प्रधानमन्त्रीले भनेको कुरा भनिरहेको छु नि ?
त्यो राम्रो कुरा हो । ंसञ्चारक्षेत्रबाट जुन खबर आइरहेको छ, सिधै प्रधानमन्त्रीले बोलिरहनुभएको छ, त्यसअनुसार पार्टीको आन्तरिक समाधान हुँदै जाऊन् र उहाँहरूले जुन बाटो रोज्नुभएको छ, कुराहरू मिलाएर अगाडि जाने जुन कुराहरू आएको छ, कुरा के भने पार्टीभित्रको विवाद समाधान गरेर देशका समस्याको समाधान गर्ने कुरामा सरकारको प्रयत्न गर्ने, यस्तो दुष्प्रभावीहरूलाई यस्तो कुरा गर्नुभएन । पार्टीभित्रको विवादको शिकार जनता बन्नुभएन । उहाँहरूभित्रको विवादले निकासको बाटो समाधान गर्ने एउटा प्रक्रिया अबलम्बन गर्न लागेको जुन सूचना प्रसारण भईरहेको छ, त्यो साँचो ठहरियोस् ।
कोरोनालाई सत्तामा रहेका मान्छेहरूले कमाउने धन्दाको रूपमा नलिऊन् । चाहे कोरोना रोकथामको सन्दर्भमा सामान किनमेलमा होस्, चाहे सेवा प्रदान गर्ने कुरामा होस्, चाहे क्वारेन्टाइन निर्माणको कुरामा होस्, चाहे विरामीको उपचारको सन्दर्भमा होस्, यस्ता कुराहरूमा कतिपय ठाउँमा कतिपय स्थानीय तहमा राम्रै पनि काम नभएका होइनन् । तर अत्यन्त घृणी ढंगले, तुच्छ ढंगले यो कोरोनालाई प्रयोग पनि गरियो नि त । दुरूपयोग पनि त गरियो नि त । यो प्रश्नलाई हेर्ने कि नहेर्ने ?
तपाईले संघीयताको विरोध गर्नुभएको थियो नि त ? संघीयता त हाम्रो देशमा सञ्जीवनी बुटि भयो नि त । के भन्नुहुन्छ ?
संघीयताको विरोधभन्दा पनि संघीयता मुलुक सुहाउँदो हुनुपर्छ भनेको हो मैले । मैले कहिले पनि संघीयताको विरोध गरेको छैन । मैले पहिलेदेखि नै भनेको के हो भने संघीयता नेपाल सुहाउँदो हुनुपर्छ । हामीले उत्तर, दक्षिण चिरिएको संघीयता खोजेर हुँदैन ।
संघीयतामा जनताका प्रतिनिधिले काम गरिरहेको छन् नि ?
स्थानीय तहमा नै अहिले काम गर्ने हो । स्थानीय तहमा कतिपय ठाउँमा जाँदा ईमान्दार जनप्रतिनिधिहरू छन् । त्यहाँ राम्रै पनि काम नभएका होइनन् । अहिले मैले फलानो ठाउँमा नराम्रो भयो भनेर तथ्यांक प्रस्तुत गर्न नसकुँला । जहाँ ईमान्दार जनप्रतिनिधिहरू छन्, त्यहाँ राम्रो काम भएका छन् । सीमित साधन स्रोतमा उनीहरूले सेवा पनि दिएका छन् ।