काठमाडौं, १६ भाद्र । नेपाल मामलाकी जानकार भारतकी प्राध्यापक संगिता थपलियालले नेपाल र भारतका नेताहरुले दुई देशको सम्बन्धमा अतितका पुराना भावनात्मक सम्बन्धको साधन बोक्न छाडेको तर्क गरेकी छिन् । उनले दुवै देशका नेताहरुबीच निकट र सहज सम्बन्ध नहुँदा समस्या आएको र अन्य पक्षले रिक्ततामा ठाउँ लिएको विषय पनि उठाएकी छिन् ।
विवेकानन्द फाउन्डेसनको वेवसाइटमा नेपाल भारत सम्बन्धबारे लेख प्रकाशित गर्दै जवाहरलाल नेहरु विश्वविद्यालयकी प्राध्यापक थपलियालले नेपाल र भारत दुवै देशको राजनीतिक नेतृत्व सन् १९४७ पछि जन्मिएको र तिनले विगतको भावनात्मक सम्बन्धको साधन नबोकेको तर्क गरेकी हुन् । नेपालका नेताहरुले भारतविरोधी आडम्बरमा हुर्केकाहरुको समर्थन लिन सजिलै सक्ने अवस्थाबारे समेत उनले चर्चा गरेकी छिन् । उनले लेखमा उल्लेख गरेकी छिन्, ‘नेपालमा भएको संरचनात्मक परिवर्तनले भारतसँगको सम्बन्धमा समेत असर पारेको छ ।’
थपलियालले नेपालका नेताहरु भारतको स्वतन्त्रता आन्दोलनमा सहभागी भएको र नेपालको राणाविरोधी आन्दोलनमा भारतीय नेताहरुले सघाएको उल्लेख गरेकी छिन् । गणेशमान सिंहले आफ्नो आत्मवृत्तान्तमा वर्णन गरिएको राणाविरुद्धको लडाईंमा भारतीय नेताहरु जयप्रकाश नारायण र राम मनोहर लोहियाले म्यानमाबाट हतियार र गोली प्राप्त गर्न सघाएको विषय समेत उल्लेख गरेकी छिन् ।
विगतमा नेपालका नेताहरुको भारतीय नेताहरुसँग सिधा सम्पर्क हुनेगरेको थपलियालको लेखमा वर्णन गरिएको छ । उनले नेपाल र भारतको शासनसत्तामा बसेका नेताहरुको निकट सम्बन्धबारे लेखेकी छिन्, ‘एउटा यस्तो समय थियो नेताहरु विना कुनै औपचारिकता एक अर्काको टेलिफोन उठाउँथे ।’ तर, त्यो सम्बन्ध समयसँगै हराउँदै गएको तथ्यबारे उल्लेख गरेकी छिन् ।
नेपाल र भारत दुर्वतर्फ राजनीतिक तहमा पुस्ता परिवर्तनको प्रसंग औल्याउँदै थपलियालले राजनीतिक सौहाद्रतामा रिक्तताको सृजना भएको तर्क गरेकी छिन् । उनले भारतका प्रधानमन्त्रीले १७ वर्ष सम्म नेपालको औपचारिक भ्रमण नगरेको प्रसंग समेत उठाएकी छिन् । यसले नयाँ राजनीतिक सम्बन्ध स्थापित हुने क्रममा नोक्शानी पुगेको औल्याएकी छिन् । उनले भनेकी छिन्, नेपालमा केहीले यो रिक्तताको ठाउँ भारतीय एजेन्सीले लिएको विश्वास गर्छन् । केहीले यो अवधिमा चिनियाँ उपस्थिति नेपालमा बढेको विश्वास गर्छन् ।
थपलियालले भारतले नेपालका नेताहरुसँग नयाँ रणनीतिका साथ पहुँच बनाउनुपर्ने र नयाँ राजनीतिक सम्बन्ध पुनः सृजना गर्नुपर्ने सुझाव दिएकी छिन् । उनले रोटी बेटी सम्बन्धको विशेष महत्व दर्शाउँदै सामाजिक सांस्कृतिक सम्बन्धको वास्तविक ध्वजवाहक नै जनताहरु भएको तर्क गरेकी छिन् । उनले भनेकी छिन्, ‘नेतृत्वले राजनीतिक अन्तरसम्बन्धको डोरो बनाउनुपर्छ ।’