Logo

लक्षण देखिएका कोरोना सङ्क्रमितमा रेम्डिसिभिर उपयोगी



काठमाडौँ, १७ भाद्र । विज्ञ चिकित्सकहरूले लक्षण देखिएका तर दीर्घरोगी नरहेका पचास प्रतिशत कोरोना सङ्क्रमितमा रेम्डिसिभिर औषधिको प्रयोग उपयोगी हुने दाबी गरेका छन् । उनीहरूले उपयुक्त समयमा उपयुक्त बिरामीमा रेम्डिसिभिर औषधिको प्रयोग गर्न सेवा प्रदायकलाई सुझावसमेत दिएका छन् ।

येटिचेम वितरक प्रा. लि.ले रेम्डिसिभिर औषधिको पहिलो ब्याचको घोषणाका लागि आयोजना गरेको भर्चुअल प्रेस कन्फरेन्समा चिकित्सक अशेष ढुङ्गानाले लक्षण देखिएका तर दीर्घरोगी नरहेका बिरामीमा रेम्डिसिभिरको प्रयोग अत्यन्तै लाभदायी हुने बताउनुभयो । नेपालमा हाल १५ प्रतिशत बिरामीमा कोरोनाभाइरसको लक्षण देखा परेको छ । सक्रिय बिरामीको सङ्ख्या करिब १८ हजार छन् । करिब दुई हजार बिरामीमा रेम्डिसिभिरको प्रयोग उपयोगी हुनसक्छ ।

उहाँले भन्नुभयो, “तीव्र गतिमा वृद्धि भइरहेको अवस्थामा रेम्डिसिभिरको प्रयोगले सङ्क्रमितको शरीरमा भाइरस वृद्धि हुनबाट रोक्छ ।” निमोनियासहित उच्च भाइरल लोडका कारण कतिपय बिरामीले ज्यान गुमाएका छन् । त्यस्ता बिरामीमा रेम्डिसिभिरको प्रयोग गर्नु लाभदायक हुने उहाँले बताउनुभयो । ढुङ्गानाले रेम्डिसिभिरको प्रयोगले बिरामीमा अन्य असर गर्न सक्नेतर्फ सचेत गराउनुभयो । उहाँका अनुसार बिरामीको कलेजोमा असर गर्नुका साथै लिभरमा इन्जाइम बढाउने र बान्ता आउन सक्ने हुँदा औषधि प्रयोगपछि बिरामीलाई उच्च निगरानीमा राख्न सुझाव दिनुभयो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा। अञ्जनीकुमार झाले दीर्घरोगीमा रेम्डिसिभिरको प्रयोगबाट बच्न सुझाउनुभयो । उहाँले परिषद्ले हाल एक सय बिरामीमा रेम्डिसिभिरको प्रभावकारिता सम्बन्धमा अध्ययन गरिरहेको खुलाउनुभयो । उहाँले पहिलो पटक सन् २००९ मा इबोला प्रकोपको समयमा रेम्डिसिभिरको प्रयोग अफ्रिकी राष्ट्रहरूमा गरिएको जानकारी दिनुभयो । नेपालमा पहिलो पटक कोभिड–१९ का बिरामीमा रेम्डिसिभिरको प्रयोग गरिँदैछ ।

औषधि व्यवस्था विभागका सन्तोष केसीले मन्त्रालयले हाल रेम्डिसिभिरको छ हजार डोज आपूर्तिको व्यवस्था मिलाएको जानकारी दिनुभयो । जसका लागि तीनवटा आपूर्तिकर्ता तोकिएको छ । प्रत्येक आपूर्तिकर्तालाई तत्काल दुईरदुई हजार गरी छ हजार डोज आयात गर्न अनुमति दिइएको खबर आजको गोरखापत्रले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्