Logo

खाद्य कम्पनीको चामल खरिदमा चलखेल



काठमाडौं, भदौ १८ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५५ करोडको चामल खरिद गर्दा चलखेल भएको पाइएको छ । कम्पनीका कर्मचारीको मिलेमतोमै कम गुणस्तरको चामल खरिद गरिएको कम्पनी स्रोतले जनाएको छ ।

कम्पनी स्रोतका अनुसार हाल देशका विभिन्न भागमा ४० हजार क्विन्टल चामल खरिद गरेर विभिन्न खाद्य गोदाममा भण्डारण गरिएको छ । त्यसरी खरिद गरिएको चामल कम गुणस्तरको पाइएपछि खरिद प्रक्रियामै आशंका सिर्जना भएको छ ।

वार्षिक कार्यक्रमअनुसार नै कम्पनीले करिब ५५ करोड रुपैयाँमा १ लाख क्विन्टल चामल खरिद गरेर गोदाममा भण्डारण गर्न थालेको हो । व्यापार कम्पनीका केही कर्मचारीको मिलेमतोमा विभिन्न ठाउँमा रहेको खाद्य गोदाममा कमसल गुणस्तरको चामल खरिद गरेर थन्क्याउने गरिएको कम्पनी स्रोतको दाबी छ ।

त्यसरी खरिद गरी गोदाममा राखिएको चामल कमसल भएको कम्पनीकै खाद्य प्राविधिकले प्रमाणित गरेका छन् । तर पनि कमसल चामल खरिद गर्ने कार्य रोकिएको छैन । प्राविधिकद्वारा मापदण्डअनुसार नभएको प्रमाणित चामललाई माथिल्लो निकायको आँखा छल्न आन्तरिक मिलेमतोमा कागजी रूपमा मिलाएर चामल गोदाममा थन्क्याउने काम भएको बताइएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्