Logo

स्थानीय सरकारका ‘खर्चिला’ सवारी



दोलखा, भदौ १८ । जिल्लाको दक्षिणी मेलुङ गाउँपालिकासंग चार पाङग्रे सवारीका नाममा तीन बर्ष अघि खरिद गरेको आफ्नो एउटा बोलेरो गाडी, लोडर र ६ ओटा मोटरसाईकल छन्।

अधिकांश कच्ची सडक रहेको गाउँपालिका क्षेत्र भरीका वडा आउजाउ गर्दा सवारी साधनहरुको मर्मत खर्च प्राय निस्कीरहन्छ।

वडा स्तरमा अनुगमन, कार्यालयको काम, साथै बैठकहरुमा भाग लिन सदरमुकाम चरिकोट, संघीय राजधानी काठमाडौं र प्रदेश राजधानी हेटौंडा आउजाउ भईरहने बोलेरो गाडीको भने चरिकोट पुगेको बेला पट्टा नफेरेको दिनै हुदैन।

सवारी साधनहरुले खर्च धेरै निकालेकै कारण यो बर्ष दुई ओटा नयाँ सवारी साधन खरिद गर्ने योजना बनाएको गाउँपालिकाले अघिल्ला बर्षहरुभन्दा यो आर्थिक बर्षमा सवारी साधनहरुको मर्मत सम्भार खर्चको बजेट पाँच लाख बढाएर बिनियोजन गरेको छ।

जिल्लाको वैत्येश्वर गाउँपालिकामा समेत उस्तै भयो। गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीका लागी २ ओटा गाडी र २१ ओटा मोटरसाईकल चल्छन्। ७ नं वडा बाहेकका सबै वडाध्यक्षहरु गाउँपालिकाकै मोटरसाईकलमा आउजाउ गर्छन्। तिनै सवारी साधनहरुको मर्मत सम्भार खर्च वापत गाउँपालिकाले आर्थिक बर्ष २०७५र७६ मा साढे १२ लाख रुपैंया खर्च गरेको गाउँपालिकामा २०७६र७७ मा ३ लाख बढेर साढे १५ लाख खर्च निस्कियो।

यो बर्षको बजेट बनाउँदा गाउँपालिका अध्यक्ष छवि लामा र वडाध्यक्षहरुले मर्मत सम्भार खर्च बढेर गएकाले मितव्यवी बनाउने भन्दै उक्त शिर्षकको खर्च १० लाखमा झारिदिए र यस अघि एउटै वडामा ४ जना सम्म प्राविधिक अनुगमनमा जाने गरेकोमा एउटा वडामा अनुगमन गर्नका लागी एक जना मात्र प्राविधिक खटाउने निर्णय गरे।

‘मर्मत सम्भार खर्च बढेपछि गाउँ कार्यपालिकाको बैठकबाट बजेट बनाउँदा मोटरसाईकल चढेर जाने प्राविधिकलाई एउटा वडामा एक जना मात्र खटाउने निर्णय भएको हो’ गाउँपालिकाको प्रशासन हेर्ने नायब सुब्बा नारायण प्रसाद दाहालले भने।

प्राय कच्च्ची सडक रहने गाउँपालिकाहरुले पाटपूर्जा टिकाउ नहुने गाडी किनेकै कारण दोलखाका प्राय स्थानिय तहहरुको मर्मत सम्भार खर्च माथिका दुई गाउँपालिका सहित अधिकांशको वर्षेनी बढ्ने गर्छ।

केन्द्र सरकारले ५० लाख भन्दा बढी मूल्य पर्ने गाडी नकिन्नु भनेर गाडी खरिद शिर्षकमा देशभरका स्थानीय तहहरुलाई लगाम लगाएको छ। त्यही भएर प्रायले स्कोर्पियो र बोलेरो किनेका छन्। कच्ची सडकको यात्राका कारण पत्ता भाचिने समस्या गाडीहरुमा देखिईराख्छन्। गाउँको कच्ची सडकमा हिड्ने मोटरसाईकलहरुमा समेत बिग्रिराख्ने समस्या उस्तै देखिन्छ।

जिल्लाका प्राय स्थानीय तहहरुमा सवारी साधन मर्मत खर्च वार्षिक १५ लाख भन्दा माथि नै निस्किन्छ। दुई ओटा गाडी र १२ ओटा मोटरसाईकल रहेको विगु गाउँपालिकामा अघिल्लो वर्ष २७ लाख ५० हजार रुपैंया खर्च भयो। यो गाउँपालिकामा कार्यालय प्रयोजनका लागी दुई गाडी र १२ मोटरसाईकल बाहेक एउटा टोयटाको ल्याण्डक्रुजर र एउटा टाटाको एम्बुलेन्स, एउटा ब्याकुलेटर, एउटा स्काबेटर, एउटा ट्रिपर छ।

‘सडकहरु प्राय सबै कच्ची छन्’ गाउँपालिकाको जिन्सी तथा सवारी सहित प्रशासन फाँट हेर्ने अधिकृत पुजन प्रसाद अधिकारीले भने – ‘त्यसैले प्राय मर्मतमा खर्च बजेट सिलिङ भित्र बढी नै भईरहन्छ’। उनका अनुसार मर्मत सम्भारमा विनियोजित बजेट मध्ये वर्षेनी ९० प्रतिशत माथि नै खर्च भईरहेको रेकर्डमा भेटिन्छ।

प्राय स्थानीय तहहरुका आफ्ना गाडी र वडा कार्यालयमा रहेका मोटरसाईकल मर्मत सम्भार गर्दा प्रक्रिया पुर्यानएर मर्मत आदेश लिने र वर्कसपमा बनाउन दिने चलन छ। त्यसरी गर्दा कतिपयले बिल समेत बढाएर पेश गर्ने गर्छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्